Latest News

सुजाता कोइरालाले गरिन् उम्मेद्वारी घोषणा, कुन क्षेत्रबाट चुनाव लड्दै छिन् ?

Nepalese Times March 30, 2022 (2 Year ago)    860 Views

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

एक प्रश्नको जवाफमा उहाँले पार्टीको १४ महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारिन् । नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणासमेत गरेकी छिन् ।

यस्तै नेपाली कांग्रेसले स्थानीय आवश्यकता र आवस्था हेरेर गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय भएको जानकारी गराएका हुन् ।

पछिल्लो गतिविधिले देशभर नेपाली कांग्रेसले जित्ने अवस्था देखिएको र त्यसलाई अझै मजबुतन बनाउनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय भएको उनले बताए ।

यस्तै नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको । यसअघि क्रियाशिल सदस्यता वितरणको कामप्रति असन्तुष्टि रहेकोले योपाली समयमै क्रियाशिल सदस्यता वितरणको काम गर्न लागिएको उनले बताए ।

यस्तै बैठकले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय भएको छ । समितिमा पूर्वबहादुर खड्कालाई नियुक्त गर्ने र अरु सदस्य पार्टीभित्र थप परामर्श गरेर निर्णय भएको महतले बताए ।

यस्तै कांग्रेसले चुनावका लागि केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा प्रकाशशरण महत नियुक्त गर्ने र बाँकी सदस्य पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस