Latest News

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको मूल्य कति ?

Nepalese Times March 30, 2022 (2 Year ago)    813 Views

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले मात्र घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।

उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।

यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस