Latest News

विराटनगरमा गठबन्धन नभए कांग्रेसलाई कठिन, यस्तो छ अंकगणित

Nepalese Times March 30, 2022 (2 Year ago)    585 Views

काठमाडौं । वैशाख ३० का लागि तोकिएको स्थानीय निर्वाचनमा विराटनगरमा कसले बाजी मार्ला ? भन्ने चासो सुरु भएको छ । विराटनगर नेपाली काँग्रेसको स्थापना कालदेखिको विरासत बोकेको महानगर हो । तर, गठबन्धन नबने कांग्रेसका लागि जित कठिन देखिएको छ ।

विराटनगरको जनमतको हिसाव गर्दा यसअघि २०७४ सालको निर्वाचनमा सबै वडाध्यक्षको मत जोड्दा काँग्रेसको १६ हजार ७ सय ६६ हुन्छ ।

एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ ।

लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै काँग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ । प्रमुख र उपप्रमुख पदमा गठबन्धन भएको कारण त्यसबेला वडाध्यक्षले ल्याएको मतलाई आधार मानेर विश्लेषण गर्दा सहज हुन्छ ।

०७४ सालको निर्वाचनमा छुट्टै लडेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित भइसकेको छ । यस्तै काँग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर १९ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण सरदार पनि काँग्रेसमै समाहित भइसकेका छन् भने विराटनगर वडा नम्बर १० का वडाध्यक्ष माधव वाग्ले अहिलेसम्म स्वतन्त्र छन् ।

कम्युनिष्टहरूले आफ्ना नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी सम्मको राजनीतिक थलोको रुपमा विराटनगरलाई चिन्दछन् ।

प्रजातान्त्रिक आन्दोलनको सुरुवातकर्ता कृष्णप्रसाद कोइराला, उनका छोराहरु वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालादेखि हालका काँग्रेस नेता शेखर कोइरालासम्मको लिगेशी विराटनगरमा छ ।

हालसम्म विराटनगरमा भएको स्थानीय तहको निर्वाचनमा दुई पटक कम्युनिष्टले र दुई पटक काँग्रेसले जित निकालेको छ । ०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए ।

०४८ सालको निर्वाचनमा काँग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । यस्तै ०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी बन्दा ०७४ सालका स्थानीय तहमा भने पुनः काँग्रेसका उम्मेदवार भीम पराजुली विजयी बनेका छन् ।

यो तथ्यलाई हेर्दा विराटनगर जितेको काँग्रेस यस पटक गठबन्धन नगरे चुनाव जित्न कठिन छ । किनकि हालका प्रमुख पराजुलीको ५ वर्ष कामको गति चित्त बुझ्दो छैन ।

प्रतिक्रिया दिनुहोस