Latest News

अमेरिकी राष्ट्रपति बाइडेनले नेपालका लागि पठाउन लागेको यी नयाँ राजदूत को हुन् ?

Nepalese Times March 30, 2022 (2 Year ago)    548 Views

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्। राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन्।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ।

यसअघि उनी यो क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री थिए। त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख (डिसिएम) थिए।

रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका थम्पसनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए।

थम्पसनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्। उनलाई रोमानियन र बंगाली भाषा पनि बोल्न आउने ह्वाइटहाउसले उल्लेख गरेको छ।

मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्।

राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन्।

को हुन् थम्पसन?
नेपालस्थित अमेरिकी नियोगमा काम नगरेपनि उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए।

थम्पसन २५ बर्षयता अमेरिकी बिदेश सेवामा कार्यरत छन्, जो पछिल्लोपटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे।

वासिङ्टनमा रहँदा उनले अमेरिकी बिदेशमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रही बिभिन्न कार्यदलको नेतृत्व गरिसकेको बिदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस