Latest News

काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ? यी हुन् चर्चामा रहेकाहरु

Nepalese Times March 30, 2022 (2 Year ago)    1069 Views

काठमाडौं । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडौ‌ं महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र गम्भीर छलफल जारी छ । यस्तै, ललितपुर महानगरपालिकामा समेत मेयरको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमालेले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

काठमाडौंमा शाक्य, स्थापित र मानन्धरको दौडधुप

संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि आफैं दौडधुप मा छन् । तर, शाक्यले अपेक्षित रूपमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ । शाक्यले भने आफूमाथि पूर्वाग्राही रूपमा आरोप लगाइएको र आफूले प्रभावकारी काम गरेको दाबी गरेका छन् । विगतमा राम्रो काम गरेको दाबी गर्दै उनले फेरि पनि आफंैले टिकट पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

काठमाडौं महानगरको अघिल्लो चुनावमा मेयरमा शाक्य ६४ हजार ९ सय १३ मतसहित विजयी भएका थिए । शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्की ५८ हजार ९ सय ५२ सहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गरी पराजित बनेका थिए ।

संघीय सरकारको सहरी विकास राज्यमन्त्री भइसकेका रामवीर मनान्धर पनि काठमाडौं महानगरको मेयरमा आकांक्षी रहेका छन् । मानन्धर मेयरका लागि दौडधुपमा लागेका छन् । उनी बलिया प्रतिस्पर्धी हुन् ।

यस्तै, काठमाडौं महानगरका पूर्वमेयर तथा बाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री केशव स्थापित समेत मेयरका लागि दौडधुप मा लागेका छन् । तत्कालीन मेयर हुँदा स्थापित विभिन्न क्रान्तिकारी र नवीन काम गरेर चर्चामा आएका थिए । स्थापित पनि आफूले मेयरमा उम्मेदवारी दिने बताउँदै आइरहेका छन् ।

ललितपुर महानगरमा शाक्य, व्यञ्जनकार र महर्जनको चर्चा

ललितपुर महानगरमा पार्टी अध्यक्ष ओलीका निकट मानिने ज्ञानेन्द्र शाक्य र मन्जरी शाक्य मेयरको आकांक्षीमा छन् । यी दुवै जना यसअघि पनि मेयरका आकांक्षी थिए ।

तर, एमाले ललिपुरका पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले अन्तिम समयमा टिकट पाएका थिए । व्यञ्जनकार कांग्रेसका नेता एवं हालका मेयर चिरिबाबु महर्जनसँग ३ सय मतले पराजित भएका थिए ।

एमाले नेता व्यञ्जनकारले नै फेरि मेयरमा टिकट पाउने सम्भावना छ । व्यञ्जनकारले मेयरमा टिकट पाएमा मन्जरी उपमेयरको उम्मेदवार बन्न तयार रहेको चर्चा एमालेभित्र छ । ललितपुर महानगरमा प्रेम महर्जन समेत बलिया उम्मेदवार हुन् । एमालेले महर्जनलाई समेत उम्मेदवार बनाउन सक्ने सम्भावना बढिरहेको छ ।

एमालेले चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न यसअघि नै निर्देशन गरिसकेको छ । जसअनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्यासीको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । यसरी सिफारिस भइआएको नामावली हेरेर माथिल्लो कमिटीले टुंगो लगाउनेछ ।

महानगरको हकमा महानगर कमिटीको सिफारिसमा जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेपछि केन्द्रीय कमिटीले निर्णय गर्ने मापदण्ड एमालेले बनाएको छ ।

एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्यांकनका आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एवं सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड तय भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस