Latest News

कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, चुनावी तालमेलबारे यस्तो छ महत्वपूर्ण निर्णय

Nepalese Times March 29, 2022 (2 Year ago)    1003 Views

काठमाडौं । नेकपाली कांग्रेसले स्थानीय आवश्यकता र आवस्था हेरेर गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय भएको जानकारी गराएका हुन् ।

पछिल्लो गतिविधिले देशभर नेपाली कांग्रेसले जित्ने अवस्था देखिएको र त्यसलाई अझै मजबुतन बनाउनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय भएको उनले बताए ।

यस्तै नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको । यसअघि क्रियाशिल सदस्यता वितरणको कामप्रति असन्तुष्टि रहेकोले योपाली समयमै क्रियाशिल सदस्यता वितरणको काम गर्न लागिएको उनले बताए ।

यस्तै बैठकले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय भएको छ । समितिमा पूर्वबहादुर खड्कालाई नियुक्त गर्ने र अरु सदस्य पार्टीभित्र थप परामर्श गरेर निर्णय भएको महतले बताए ।

यस्तै कांग्रेसले चुनावका लागि केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा प्रकाशशरण महत नियुक्त गर्ने र बाँकी सदस्य पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गर्ने निर्णय भएको छ ।

कांग्रेसको बैठकमा स्थानीय तहमा खटिएका केन्द्रीय सदस्यहरुले यथार्थ विवरण र प्रतिवेदन पेस गरेका थिए भने त्यसबारे आवश्यक छलफलसमेत भएको प्रवक्ता महतले बताए ।

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन्। मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय भएको उनले बताए।

केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए। पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए।

प्रतिक्रिया दिनुहोस