Latest News

रवीन्द्र मिश्रमाथि असन्तुष्ट समूहले गरे प्रहार, पार्टी कार्यलयमा तनाव

Nepalese Times March 29, 2022 (2 Year ago)    933 Views

काठमाडौं । रवीन्द्र मिश्रले एकलौटी ढंगले पार्टी हितविपरित काम गरेको भन्दै असन्तुष्ट समूअले पार्टी कार्यलयमै विरोध प्रदर्शन गरेका छन् । यसअघिको विवादमा अध्यक्ष रवीन्द्र मिश्रलाई साथ दिएका नेताहरू नै अहिले उनीसँग असन्तुष्ट बनेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा असन्तुष्ट समूह अध्यक्ष मिश्रमाथि खनिएका थिए भने उक्त समूहले राजावादी पार्टीसँग एकता प्रयासका विषयमा जानकारी माग्दा मिश्रले पन्छाउन खोजेको आरोप लगाएको छ ।

अध्यक्ष मिश्रलले पार्टीका २६ जना केन्द्रीय सदस्यमाथि कारबाही, प्रदेश संयोजकहरूको हेरफेर र स्थानीय चुनावको तयारीसम्बन्धी निर्णय सुनाएपश्चात् केही केन्द्रीय सदस्यहरूले विरोध गरेका हुन् ।

विरोध प्रदर्शन हुने देखिएपछि मिश्र उठेर हिँडे भने त्यसपश्चात् असन्तुष्ट समूहको बैठक बसेको थियो । बैठकले अध्यक्ष मिश्रलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त स्पष्टीकरणको जवाफ नआए अध्यक्षलाई नै पदबाट हटाउने चेतावनी असन्तुष्ट समूहका नेताहरूले दिएका छन् ।

असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीले विज्ञप्ति प्रकाशित गरेर असक्षम पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीलाई निरन्तरता दिने पक्षमा नरहेको बताएका छन् ।

उनी पार्टीको आत्मालाई लत्त्याएर विशुद्ध निजी स्वार्थका लागि विवेकशील साझामा प्राप्त राजनीतिक पुँजी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील रहेको असन्तुष्ट नेताहरुको आरोप छ ।

नेता अधिकारीले भने, ‘हाम्रो पार्टीका १६३ जना केन्द्रीय सदस्यहरूमध्ये ९६ जनाले हस्ताक्षर गर्नुभएको छ । अध्यक्षलाई अपदस्थ गर्न हामीसँग पर्याप्त सङ्ख्या छ ।’

पार्टी प्रवक्ता शरदराज पाठक भने पार्टीको बहुमत सङ्ख्या नेतृत्वसँगै रहेको बताउँछन् । केही व्यक्तिहरूले पार्टीभित्र हुल हुज्जत गरेर सुसंस्कृत राजनीतिलाई बिथोल्न खोजेको उनको आरोप छ ।

विवादका बीच आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर पत्रकार सम्मेलन आयोजना गर्दा तनाव उत्पन्न भएको थियो । पार्टी संस्थापनले आयोजना गरेको पत्रकार सम्मेलनकै समय पारेर असन्तुष्ट समूहले पनि पत्रकार सम्मेलन राखेको थियो । यस क्रममा दुवै पक्षले एक–अर्कालाई अराजकता देखाएको आरोप लगाएका छन् ।

दुई पक्षबीच तनाव भएपछि आज कार्यालयमा आयोजना गरिएको प्रदेश संयोजक र इन्चार्जलाई शुभकामना दिने कार्यक्रम पनि बिथोलिएको थियो । असन्तुष्ट समूहले आफूहरूसँग बहुमत रहेको दाबी गरे पनि उनीहरूसँग ठ्याक्कै कति सङ्ख्या छ भन्ने यकिन छैन ।

असन्तुष्ट समूहको नेतृत्व गरेका भिमप्रसाद अधिकारी केन्द्रीय सदस्य हुन् । यस्तै, संगठन विभाग प्रमुख निर्देश सिलवाल, गहेहेन्द्र दाहाल, विराजभक्त श्रेष्ठ, अनिल भेटवाल, सुमित्रा गुरुङ, एसपी शाह सारथी, प्रदीप थापा, सञ्जीवबल्लभ भट्टराई, समुद्रै केसी लगायतका नेताहरू असन्तुष्ट समूहतर्फ खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस