Latest News

शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

Nepalese Times March 29, 2022 (2 Year ago)    1080 Views

काठमाडौं । यहि शुक्रबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । घोडेजाताको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

यो वर्ष विश्व मूर्ख दिवस र घोडे जात्रा एकै दिन परेको छ । यस्तै शुक्रबार नै अप्रिप फुलसमेत परेको छ । अप्रिलको पहिलो दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ ।

युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा मात्र एउटा भरपर्दो र छिटो सवारीको माध्यम थियो । विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरु सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।

अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्तै महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ(जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।

आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाण्डौमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाण्डौको विभिन्न ठाउँमा रहेको राणाहरुको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी हुन्छ ।

नेपोलियन देखि कुब्लाई खाँ सम्म अनि जङ्ग बहादुर देखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बिरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाण्डौको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ यूतान्तरदेखि काठमाण्डौको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।

घोडे जात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन काल देखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौँको टुँडिखेलमा हज्जारौं सर्वसाधारणका बिच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्दछन् ।

घोडे जात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।

यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दछ ।

त्यसका अलावा सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्ने गर्दछ । यस जात्राको प्रथम दिन लुकुमहादेवको पूजा अर्चना गर्दै बलि चढाउने चलन छ, असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक आपसमा ठोक्काउँदै दुई दिदिवहिनीको मिलन गराउने चलन छ ।

यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई सहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदिवहिनीहरुलाई माइतमा वोलाउने र भोज खुवाउने पनि चलन छ । काठमाडौँ वासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउन पछाडिको एउटा कारण हो ।

प्रतिक्रिया दिनुहोस