Latest News

दुई महामन्त्री गगन र विश्वप्रकाशबीच कुरा मिलेन, के गर्लान् देउवा ?

Nepalese Times March 28, 2022 (2 Year ago)    857 Views

काठमाडौं । नेपाली कांग्रेसका दुईजना महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच माओवादी केन्द्रसहितको चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ।

तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा एकजना महामन्त्री थापाले आफूलाई गठबन्धनको विपक्षमा उभ्याएका छन्। बैठकमा आफ्ना कुरा राख्ने क्रममा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने पनि बताए।

‘म चुनावी गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन’, उनले बैठकमा भने, ‘देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?’

महामन्त्री थापाले अहिले माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हमा भोट हालेको कांग्रेस कार्यकर्ताले भविष्यमा रुखमा भोट नहाल्ने पनि बताए।

तर अर्का महामन्त्री शर्माले भने चुनावी तालमेल आवश्यक रहेको बताउँदै सभापति शेरबहादुर देउवाको पक्षमा आफूलाई उभ्याए। बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा महामन्त्री शर्माले गठबन्धन आवश्यकता हेरेर गर्नुपर्ने तर्क गरेका थिए।

‘उहाँ ९विश्वप्रकाश शर्मा० ले विगतमा नेपाली कांग्रेसले पाप्त गरेको मत र अन्यले प्राप्त गरेको मतको तथ्यांक पनि पेश गर्नु भयो’, एक केन्द्रीय सदस्यले भने, ‘विगतको नतिजाको पनि विश्लेषणका आधारमा उहाँले तालमेल आवश्यक रहेको कुरा राख्नु भयो।’

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् । सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन् ।

उनले प्रश्न गरे, ‘सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु रु काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’

मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

कोइराला पछि बोलेका गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले गठबन्धनको सरकार बन्ने समयमा नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको बताए । उनले त्यो सहमति काँग्रेसले तोड्न नमिल्ने बताए । तर गठबन्धनको नाममा आफ्नो संगठन अलगथलग पार्न नहुने उनले धारण राखे ।

यस्तै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेकी कोइरालाले आफ्नै दाईसमेत रहेका शेखर कोइरालालाई जवाफ दिँदै गठबन्ध गर्नुपर्ने बताएकी हुन्

प्रतिक्रिया दिनुहोस