Latest News

अन्ततः चुनावी तालमेल गर्ने एमाले र माओवादीबीच सैद्धान्तिक सहमति, यसरी हुँदैछ भागबण्डा

Nepalese Times March 28, 2022 (2 Year ago)    1121 Views

काठमाडौं । केन्द्रमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेलको कसरत भइरहेको छ । केन्द्रमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउनुपर्ने अडानसहित दलहरु अघि बढ्दै गर्दा पालिकाहरुमा भने फरक खालको गठबन्धन हुने देखिएको छ ।

ओखलढुंगाको एक गाउँपालिकामा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी तालमेलको अन्तिम प्रयास भएको छ।

देशभर सत्तारुढ गठबन्धनमाझ तालमेलको तयारी भइरहेका बेला ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा भने माओवादी र एमालेबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको हो।

कांग्रेसकै कारण एमालेसँग मिलेर चुनावमा जानुपर्ने अवस्था बनेको तर, तालमेलको अन्तिम निर्णयको लागि जिल्ला र केन्द्रको निर्देशन पर्खिरहेको चम्पादेवी ५ का वडाध्यक्ष तथा माओवादी केन्द्रका इन्चार्ज झलक तामाङले बताए ।

सैद्धान्तिक रुपमा माओवादीसँग चुनावी तालमेल गर्ने सहमति भए पनि भागबण्डाको विषय टुंगिन बाँकी रहेको नेकपा एमालेका प्रदेश १ का सदस्य तीर्थ सुवेदीले बताए ।चम्पादेवी गाउँपालिकाको हकमा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरिएको तर, प्राविधिक कुरा टुंगो लगाउन बाँकी रहेको उनको भनाइ छ ।

चम्पादेवी गाउँपालिकामा १० वडा छन्। उक्त गाउँपालिकामा कांग्रेसका नवराज केसी अध्यक्ष छन् भने उपाध्यक्ष पनि कांग्रेसकै निर्मलादेवी रैका रहेका छन् । माओवादी केन्द्रले पालिका अध्यक्षसहित ४ वडाध्यक्ष मागेको छ। यदि अध्यक्ष एमालेले लिने भए उपाध्यक्षसहित ६ वडाध्यक्ष पाउनुपर्ने माग गरेको वडाध्यक्ष तामाङले बताए ।

केन्द्रमा कांग्रेससँग गठबन्धन भए पनि आफूहरुको पालिकामा मिल्न रहेको र विगतमा उनीहरुले गरेको व्यवहारले जनस्तरमा नमिल्न दबाब रहेको तामाङको भनाइ छ ।

एमालेसँग कुरा मिल्ने सम्भावना रहेको र गाउँपालिका अध्यक्ष लिनेले ४ वडा लिने, उपाध्यक्ष लिनेले ६ वडा लिने बटमलाइनमा छलफल भइरहेको बताइएको छ । एमालेका प्रदेश सदस्य सुवेदी पनि प्राविधिक विषयले बाधा नपारे एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने अन्तिम प्रयास भइरहेको बताउँछन्।

एमाले चम्पादेवी गाउँपालिका अध्यक्ष खेम मिश्र, रमेश घिमिरे लीला कटुवाल, केदार पुडासैनी रहेको वार्ता कमिटी बनाएर दुई तीन चरणमा छलफल चलिसकेको छ ।कांग्रेसले पालिका जितेपछि बजेट विनियोजन, विकास निर्माणमा विभेद गरिएको पनि माओवादी केन्द्रको आरोप छ।

ओखलढुङ्गामा १ नगरपालिका र ७ गाउँपालिका छन्। एमालेले जिल्ला स्तरमा पनि माओवादीसँग तालमेलबारे छलफल अगाडि बढाइरहेको प्रदेश १ सदस्य सुवेदीले बताए । माओवादी केन्द्रका जिल्ला संयोजक निशान्त शर्मा भने पालिकास्तरमा भइरहेको छलफल कुनै निर्णयमा पुगिनसकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस