Latest News

५ दिन विद्यालय बन्द गर्ने निर्णय

Nepalese Times March 28, 2022 (2 Year ago)    1056 Views

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।

शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् ।

गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयानुसार नै विद्यालय बन्द हुने भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले बताए ।

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयका पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ ।

उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने पुनः सञ्चालन रहने जनाइएको छ । शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन् । सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन् ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए ।

जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव बोर्ड बैठकमा लगिएकोमा १६ गते गर्ने निर्णय गरिएको हो ।परीक्षा नौ दिनसम्म सञ्चालन भई २५ गते सकिनेछ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस