Latest News

काठमाडौंमा फेरि लकडाउन गर्ने तयारी, कारण यस्तो

Nepalese Times March 28, 2022 (2 Year ago)    4356 Views

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै भएको छ । काठमाडौं उपत्यका वायु प्रदूषण हुने सहरमध्ये पहिलो नम्बरमा परेको छ ।

काठमाडौं उपत्यकासहित नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण अत्याधिक रहेको छ ।

काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।

काठमाडौं उपत्यकामा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएसँगै लकडाउन गर्ने तयारीसमेत भएको छ । यहि अवस्थामा वायु प्रदूषण बढ्दै लकडाउन गरेर भीडभाड कम गर्नुपर्ने अवस्था आउन सक्ने एक सरकारी अधिकारीले बताएका छन् ।

काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो ।

यस वर्ष नेपालको पिएम–२.५ को स्तर वार्षिक ४६ पुगेकोे छ । यो हिसाबले नेपाल प्रदूषित मुलुकको १०औँ स्थानमा पर्छ । पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ । सबैभन्दा बढी प्रदूषित बंगलादेश रहेकामा त्यसपछि क्रमशः पाकिस्तान, ताजिकिस्तान, भारत, किर्गिस्तान छन् ।

डब्लुएचओले गत असोजमा मात्र वायु प्रदूषणको मापदण्ड पुनरावलोकन गर्दै पिएम–२.५ को मानक वार्षिक १० बाट घटाएर ५ कायम गरेको थियो । तर, नेपालको वार्षिक औसत मापदण्ड भने छैन ।

वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौं र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको छ ।

डब्लुएचओले यो मापदण्ड पुनरावलोकन गरेर २५ प्रतिशतले घटाई १५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरिसकेको छ । तर, नेपालले भने मापदण्ड पुनरावलोकन गर्न त परै जाओस्, आफैँले बनाएको मापदण्डभित्र पनि प्रदूषणको मात्रा कायम गर्न सकेको छैन । अर्थात् नेपाल अति प्रदूषित मुलुकमा पर्छ ।

ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरालगायत जैविक इन्धन, धुलोधुवाँ, निर्माण, सवारीसाधन र कृषिजन्यु वस्तु (परालसहित) जलाउँदा दक्षिण एसियामा प्रदूषण बढेको औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस