Latest News

प्रचण्ड र केपी ओलीबीच फेरी सुटुक्क कुराकानी, पार्टी एकता गर्न यस्तो कसरत

Nepalese Times March 28, 2022 (2 Year ago)    1362 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सुटुक्क छलफल हुन थालेको खुलेको छ ।

कम्युनिष्ट पार्टी एकीकृत गर्नका लागि दबाब बढ्दै गएपछि यी दुई दलका अध्यक्षबीच छलफल सुरु भएको स्रोतले जनाएको छ । यसअघि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।

पछि सर्वोच्च अदालतको फैसलाका कारण दुबै पार्टी ब्युँतिएको थियो । छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई एउटै पार्टीमा समाहित गर्नका लागि छिमेकी देश चिनकोसमेत सक्रिय भएको छ । नेपालका लागि चिनियाँ विदेशमन्त्रीले सेमत एमाले र माओवादी मिलाउन सक्रियता बढाएको देखिन्छ ।

यस्तै नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले चिनतर्फ दौडधुप बढाएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देव गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी श्रीमती तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन गएका र सोमबार फर्कने उनको भनाइ छ । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् ।

शुक्रबार बिहान ९ बजे गुरुङका साथमा माओवादी नेताहरू वर्षमान पुन र ओनसरी घर्तीमगर समेत चीन प्रस्थान गरेका छन् । एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा गएका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेलगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला गरेको छ । तर दुबै दलका नेताहरुले भने चुनावमा एक्लै लड्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।

वाम गठबन्धनको चर्चा परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका ७ नेताहरू एकैपटक उत्तरी छिमेकी मुलुक चीनतर्फ प्रस्थान गर्नुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस