Latest News

छिमेकी देशमा आजदेखि फेरि लकडाउन घोषणा, इन्धनको मूल्य पनि ह्वात्तै घट्यो

Nepalese Times March 28, 2022 (2 Year ago)    1041 Views

काठमाडौं । चीनको सांघाई शहरमा लकडाउन घोषणा भएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सांघाईमा लकडाउन घोषणा गरिएको हो । सरकारी अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

सांघाई सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ। त्यस क्षेत्रमा दुई चरणमा लकडाउन हुनेछ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने र लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्। चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ। आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन्।

अरू मुलुकको तुलनामा यो संख्या न्यून भए पनि कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ।

सांघाईमा भएका उद्योग धन्दा र व्यापार(व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ। चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस