Latest News

म्यादीमा भर्ना हुन आवेदन दिएकामध्ये कति छन् स्नातक उत्तीर्ण गरेकाहरु ? (सूचीसहित)

Nepalese Times March 27, 2022 (2 Year ago)    881 Views

काठमाडौं । म्यदी प्रहरीका लागि आवेदन दिएकामध्ये ३ सय ४१ जनाको शैक्षिक योग्यता स्नातक वा सोभन्दा माथि रहेको पाइएको छ ।

स्थानीय निर्वाचनका लागि आवश्यक एक लाख म्यादी प्रहरीका लागि आवेदन दिएकामध्ये उनीहरुको शैक्षिक योग्यता स्नातक वा सोभन्दा माथि रहेका प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

तीमध्ये प्रदेश–१ मा ४७ जना, प्रदेश–२ मा २६ जना, बागमती प्रदेशमा ३७ जना, उपत्यकामा ७० जना, गण्डकी प्रदेशमा ३७ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूर पश्चिम प्रदेशमा ५५ जना रहेका छन् ।

कैलालीमा ४६ जना कम्तीमा स्नातक उत्तीर्णले म्यादीका लागि आवेदन दिएका छन् । यसको संख्या कपिलवस्तुमा १८ जना, कास्कीमा २० जना, काठमाडौंमा ४६ जना, ललितपुरमा १८ जना, चितवनमा १८ जना, मोरङमा १६ जना, इलाममा १४ जना र उदयपुरमा १२ जना रहेको छ ।

निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका छन् । आवेदकमध्ये प्लस टु मात्र उत्तीर्णको संख्या ३२ हजार १२ जना रहेको छ भने एसएलसी वा एसइई उत्तीर्ण ८३ हजार २ सय ११ रहेका छन् । साधारण लेखपढ गर्न जान्नेको संख्या एक लाख ७७ हजार ७ सय ५० रहेको छ ।

आवेदनको समय शुक्रबार सकिएको थियो । चैत ६ देखि भर्ना आवेदन आह्वान गरिएको थियो । आवेदन भरेकामध्ये ६९ हजार ६ सय ८० महिला र दुई जना तेस्रो लिङ्गी पनि रहेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । उनीहरूले तलबबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदै छ । म्यादीका लागि आवेदन दिनेमध्ये २० वर्ष सम्म उमेर भएका ८३ हजार ६ सय २९, २१ वर्षदेखि ३० वर्षको उमेर भएका एक लाख ३३ हजार ४ सय ७६, ३१ देखि ४० वर्षको उमेरका ५४ हजार ८ सय ४७ र ४१ देखि ५४ वर्षसम्मका २१ हजार ३ सय ६२ जना रहेका छन् ।

यस्तै आवेदन दिएकाहरुमध्ये करिब २२ हजार पूर्व म्यादीहरू रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ३ सय १ महिलासहित २१ हजार ८ सय ८८ जना पूर्व म्यादीले आवेदन दिएका छन् ।

यसै गरी चार हजार १ सय २४ जना पूर्व सुरक्षाकर्मीहरू पनि आवेदक रहेका छन् । गत साउन १ गतेदेखि विभिन्न सुरक्षा निकायका खुलेका पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण ४ हजार ७ सय ९४ रहेका कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस