Latest News

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने, को बन्दै छन् नयाँ अर्थमन्त्री ?

Nepalese Times March 27, 2022 (2 Year ago)    1415 Views

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । चौतर्फी विवादपछि उनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

उनको कार्यशैलीप्रति उनको दल नेकपा माओवादी केन्द्रबाट नै अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनुपर्ने आवाज उठेको थियो । अर्थतन्त्र सुधारका लागि उल्लेख्य काम गर्न नसकेको आरोप खेपेका अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर माओवादी केन्द्रबाटै अरु कोहीलाई अर्थमन्त्री बनाउने माओवादी केन्द्रको तयारी रहेको छ ।

शर्मालाई अर्थमन्त्रीबाट हटाउनुपर्ने आवाज नेकपा माओवादी केन्द्रमा मात्रै नभई प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र पनि बलियो बन्दै गएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमासमेत अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्। व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे।

अर्थमन्त्री शर्माले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेसँगै नयाँ अर्थमन्त्रीमा माओवादीबाटै अर्को व्यक्तिलाई ल्याउने कसरतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रय भएका स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेता वर्षमान पुनलाई अर्थमन्त्री बनाउनेबारे कुराकानी भइरहेको छ । शर्मा र पुन माओवादी केन्द्रको महासचिवको दाबेदारसमेत हुन् । यी दुई नेताबीच कुरा मिल्न नसक्दा माओवादी केन्द्रले महासचिव चयन गर्न सकिरहेको छैन ।

यस्तै माओवादी केन्द्रले उर्जामन्त्री पम्फा भुसाललाईसमेत फिर्ता बोलाउने तयारी गरेको छ । शर्मा र भुसाल दुबैजनाले राम्रो कार्यसम्पादन गर्न नसकेको माओवादीभित्र कुरा उठ्ने गरेको छ । स्थानीय तहको चुनावअघि नै मा‌ओवादीले केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी थालेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस