Latest News

चितवनमा रेणु दाहाललाई कांग्रेसले सघाउँछ ? यसो भन्छन् पूर्वसभापति गुरुङ

Nepalese Times March 27, 2022 (2 Year ago)    1091 Views

काठमाडौं । चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने बताएका हुन् ।

भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उनले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको बताए ।विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने चितवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने उनको भनाइ छ ।

फेरि पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट नहाल्ने भन्दै उनले सानेपामा पत्रकारसँग भने, ‘रेणुले हार्छिन ।’ आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने बताए ।

६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनु परेको भन्दै ७४ को स्थानीय चुनावको प्रशंग निकाल्दै उनले फेरि पनि रेणुलाई समर्थन गर्ने हो भने चितवनमा कांग्रेसले सहयोग नगर्ने बताए । विगतमा चितवनका चार क्षेत्र नै जितेको, तत्तकालीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उनले चितवनमा कांग्रेस कमजोर नरहेको तर केन्द्रबाट कमजोर बनाइएको बताए ।

सभापति देउवालाई आफूले चितवनमा कांग्रेस कमजोर नरहेको बताउन चाहिरहेको उनले बताए । पञ्चायतकालदेखि नै चितवनमा कांग्रेस बलियो रहेको बताउँदै उनले तीनपटक आफैं जिल्ला पञ्चायतको सभापति जितेको गुरुङले बताए ।

‘७० मा सुशील दाइ (सुशिल कोइराला)लाई लगेर जिताएका हौं । ४ वटै निर्वाचन क्षेत्र जित्यौं,’ उनले भने,‘४८ र ७४ मा हो सबै हारेको । नत्र सधैँ जितेका छौं ।’ अहिले माओवादी र एमाले जोड्दा पनि कांग्रेस नै बलियो रहेको उनले दाबी गरे ।

भरतपुर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल कांग्रेससँगको तालमेलबाट भरतपुरमा मेयर बनेकी थिइन् ।

संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई मैदान छाडेको थियो । यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय चितवनका कांग्रेस नेताहरूले गरेका छन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले बुधबार गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस