Latest News

सिमानाका र बीआरआईबारे ओली र चीनका विदेशमन्त्रीबीच के–के भयो कुराकानी ?

Nepalese Times March 27, 2022 (2 Year ago)    710 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार बिहान होटल म्यारिएटमा भएको भेटवार्तामा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत विगतमा हस्ताक्षर भएका सहमति र सम्झौता कार्यन्वयनबारे छ्लफल भएको थियो ।

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्री वाङसमक्ष तातोपानी र केरुङ नाकाबाट आयात–निर्यात सहज बनाउन आग्रह गरेका थिए । नेपाल र चीनबीचको निकट सम्बन्ध विस्तारबारे पनि छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

भेटवार्तामा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहजरूपमा फर्कने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । ओलीको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

बीआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङले प्रतिबद्धता जनाए । भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी ले अमेरिकी रणनीतिबारे चासो राखेका थिए ।आइतबार अध्यक्ष प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका नेताहरूसँगको भेटवार्तामा वाङले अमेरिकीहरू रणनीतिक रूपमा अगाडि बढिरहेको र चीनको वरिपरिका मुलुकमा विभिन्न नाममा प्रवेश गरिरहेको बताए ।

वाङले चीनविरुद्ध अमेरिकाले रणनीतिक योजना बुनिरहेको बताएका छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले बताए । उनले भने, ‘अमेरिकीहरू रणनीतिक रूपमा चीनको वरिपरि रहेका मुलुकहरूमा विभिन्न नाममा प्रवेश गरिरहेका छन्, त्यसकै लागि आईपीएसको प्रभाव बढाइरहेका छन्। उनीहरू चीनमै प्रवेश गर्न चाहन्छन्’, वाङको भनाई उधृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘तर, नेपालजस्तै असल छिमेकीका कारण उनीहरू सकिरहेका छैनन्। चिनियाँ जनताको एकताले पनि अमेरिकाको योजना सफल भएको छैन।’

उनले भने, ‘नेपालले लिएको एक चीन नीतिप्रतिको अडानप्रति खुसी छौँ, चीनप्रति तपाईँहरूको सदभाव छ, असल छिमेकी भएकोमा हामी खुसी छौँ ।’ तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले स्वदेश फर्कनुअघि माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेका हुन्। नक्सालस्थित होटेल मेरियटमा करिब ४० मिनेटसम्म भेटवार्ता चलेको थियो। भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेता शक्ति बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस