Latest News

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times March 27, 2022 (2 Year ago)    727 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी ले अमेरिकी रणनीतिबारे चासो राखेका थिए ।

आइतबार अध्यक्ष प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका नेताहरूसँगको भेटवार्तामा वाङले अमेरिकीहरू रणनीतिक रूपमा अगाडि बढिरहेको र चीनको वरिपरिका मुलुकमा विभिन्न नाममा प्रवेश गरिरहेको बताए ।

वाङले चीनविरुद्ध अमेरिकाले रणनीतिक योजना बुनिरहेको बताएका छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले बताए ।

उनले भने, ‘अमेरिकीहरू रणनीतिक रूपमा चीनको वरिपरि रहेका मुलुकहरूमा विभिन्न नाममा प्रवेश गरिरहेका छन्, त्यसकै लागि आईपीएसको प्रभाव बढाइरहेका छन्। उनीहरू चीनमै प्रवेश गर्न चाहन्छन्’, वाङको भनाई उधृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘तर, नेपालजस्तै असल छिमेकीका कारण उनीहरू सकिरहेका छैनन्। चिनियाँ जनताको एकताले पनि अमेरिकाको योजना सफल भएको छैन।’

उनले भने, ‘नेपालले लिएको एक चीन नीतिप्रतिको अडानप्रति खुसी छौँ, चीनप्रति तपाईँहरूको सदभाव छ, असल छिमेकी भएकोमा हामी खुसी छौँ ।’

तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले स्वदेश फर्कनुअघि माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेका हुन्। नक्सालस्थित होटेल मेरियटमा करिब ४० मिनेटसम्म भेटवार्ता चलेको थियो। भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेता शक्ति बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस