ताजा समाचार

भीम रावलको जमानत जफत गर्ने चेतावनी दिनेहरुले कति मत पाए ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार २०:१२ (1 महिना अघि)    ३३५ जनाले पढ़िसके

काठमाडौं । भीम रावलको जमानत जफत गर्ने चेतावनी दिएका एमाले नेता सूर्य थापा आफैँ भने केन्द्रीय सदस्यमा बालबाल जोगिएका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत रहेका थापाले महाधिवेशनका लागि चितवन झर्नुअघि काठमाडौंका कार्यक्रमहरुमा ओलीविरुध्द उभिने जो कोहीको पनि जमानत जफत हुने बताएका थिए ।

थापाको उक्त चेतावनी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल र नेता घनश्याम भुसाल लक्षित थियो । तर,थापाले भनेजस्तो रावल र भुसालको जमानत जफत भएन । रावलले प्रतिस्पर्धात्मक मत ल्याउन नसके पनि खसेको मतको १० प्रतिशत भोट कटाएका छन् ।

उपाध्यक्षका उम्मेदवार भुसालले पनि सम्मानजनक मत पाए । त्यसो त, रावल–भुसालको हार अनपेक्षित होइन । जुन परिस्थितिमा महाधिवेशन गरिएको थियो,त्यसले रावल अध्यक्ष निर्वाचित हुने अवस्था थिएन ।

बरु अरुलाई जफतको चेतावनी दिने उनै थापा भने केन्द्रीय सदस्यमा सबैभन्दा थोरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुने १० जनामा परेका छन् ।

एमालेको विधानमा ८४ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान छ । जसमा केपी ओलीले प्रस्ताव गरेको नामावलीभन्दा धेरैको उम्मेदवारी परेपछि चुनाव भएको थियो । ८५ जनाको उम्मेदवारी परेकोमा टंक कार्कीबाहेक सबै निर्वाचित भएका छन् ।

थापाले १४ सय ८५ मत ल्याउँदा उनीभन्दा पछाडि निर्मल भट्टराईले १४ सय ८०,लक्ष्मी पोखरेलले १४ सय ६३,सूर्य ढकालले १४ सय २३ र शिवराज सुवेदीले १४ सय ११ मत ल्याए ।

सचिवमा पराजित भीम आचार्यले १३ सय ९३,श्रीप्रसाद जबेगुले १३ सय ४४ र सन्जिब झाले १२ सय ६८ मत पाए । पदाधिकारीमा पराजित भएका घनश्याम भुसाल र भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भए । भुसालले थापाको भन्दा करिब दुई सय कम १२ सय ६५ मत पाउँदा रावलले नौ सय ४ भोट ल्याए ।

खुलातर्फको केन्द्रीय सदस्यमा १० बुँदे समूहका ठाकुर गैरेले दोस्रो धेरै मत ल्याए । उनले १८ सय ३२ मत ल्याएका थिए । उनको भन्दा धेरै भरतपुरको मेयरमा पराजित देवी ज्ञवालीले १८ सय ७७ मत ल्याए ।

किरण गुरुङ्ग,काशिनाथ अधिकारी र पुरुषोत्तम पौडेलले १८ सय भन्दामाथि मत प्राप्त गरेका छन् । अध्यक्ष ओलीको तीव्र प्रशंशा गरेर राजनीतिक हाइट चुल्याउँदै गरेका थापा धेरै मत ल्याएर केन्द्रीय सदस्य बन्न भने सकेनन् ।

प्रधानमन्त्री कार्यालयमा बसेर देशव्यापी नेटवर्क बनाएका र आफ्ना अभिव्यक्तिले सँधै चर्चामा रहने गरेका उनले सर्वाधिक मत ल्याउन सक्ने बाहिरी बुझाई थियो ।

तर, एमाले कार्यकर्ताले उनलाई सहजै स्वीकार गरेको देखिएन । बरु ओली समूहकै अरु नेताहरुले उम्मेद्वारी दिएको अवस्थामा थापा पराजीत समेत हुनसक्ने अवस्था प्राप्त मत परिणामले देखाएको छ । जनआस्थाबाट


प्रतिक्रिया दिनुहोस