ताजा समाचार

ओलीलाई बधाई दिँदै अमेरिकाले पठायो यस्तो सन्देश !

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १९:४४ (1 महिना अघि)    १४४ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नेता केपी शर्मा ओलीलाई विदेशी मुलुकबाट बधाई आउन थालेको छ।

अमेरिकाले आज ओलीलाई अध्यक्षमा निर्वाचित भएको भन्दै बधाइ तथा शुभकामना दिएको छ ।

बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्विट गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाई बधाइ दिएको हो । ओलीलाई बधाइ दिँदै अमेरिकाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा आफू रहेको समेत बताएको छ ।

नेकपा एमालेको १० औँ महाधिवेशनले केपी शर्मा ओलीलाई भारी मतले निर्वाचित गरेको छ । उनी नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन्।

ओलीले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका ओलीबारे आम चासो बन्ने गरेको छ ।

नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै पहिलो पटक उनी एमाले अध्यक्ष बनेका थिए । अहिले भीम रावललाई भारी मतले पराजित गर्दै उनी पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।

यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरे ।

शनिबारको बन्दसत्रबाट प्राप्त अधिकार अनुसार आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै पदाधिकारीहरु मंगलबार निर्वाचित भएका छन्।

अध्यक्षमा ओली निर्वाचित हुँदा, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्‌मा अर्याल निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस