ताजा समाचार

कर्मचारी संयन्त्र ठेक्कापट्टामा लागेपछि मन्त्री आले रिसले चुर, चाले यस्तो कदम !

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १९:३७ (1 महिना अघि)    १४१ जनाले पढ़िसके

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आफूले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । कर्मचारी प्रशासनको सुस्तताको कारण आफूले भनेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।

आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भन्दै उनले तर कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरे ।

पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको बताए ।

बुधबार नेपाल पर्वतारोहण संघले गरेको कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको टिप्पणीसमेत गरे ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले यस्तो गुनसो गरेका हुन् ।

नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उनले उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरे ।

सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।

पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए ।

कोभिड १९ का कारण पर्वतीय पर्यटन क्षेत्रका मजदुरलाई आर्थिक समस्या परेको भन्दै नेपाल पर्वतारोहण संघको आग्रहमा जापानको निप्पोन फाउण्डेसनले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

त्यसमा नेपाल पर्वतारोहण संघले पनि केही रकम थप गरी ३ हजार पर्वतीय पर्यटनका मजदुरलाई वितरण गर्ने भएको छ ।

नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङका अनुसार करिब ११ हजार पर्वतीय पर्यटन मजदुरमध्ये अत्यावश्यक भएका तीन हजार मजदुरलाई प्रतिव्यक्ति ५० अमेरिकी डलर बराबरको सहयोग गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस