ताजा समाचार

राप्रपाको महामन्त्री पद नपाए यस्तो तयारीमा छिन् रेखा थापा ?

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १५:१६ (1 महिना अघि)    २६२ जनाले पढ़िसके

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा उठ्ने तयारी गरेकी छिन् ।

हाल केन्द्रीय सदस्य रहेकी थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने तयारी गरेकी हुन् । लिङ्देनको प्यानलमा महामन्त्रीका लागि रेखाले लविङ गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । यदि महामन्त्री नपाए पदाधिकारीमध्ये कुनैमा उनले उम्मेदवारी दिनेछिन् ।

पार्टीमा युवा नेतृत्व चाहिएकाले लिङदेनको पक्षमा उभिएको उनको भनाइ छ । लिङदेन समूहले आज बेलुकासम्म आफ्नो प्यानलबाट लड्ने उम्मेदवारको सूची तयार गर्दैछ । त्यसमा रेखाले आफूले महामन्त्री पाउनुपर्ने लविङ गरेकी छन् ।

केही दिनअघि लिङ्देनले उम्मेदवारी घोषणा गर्दा रेखा पनि समर्थन जनाउन उपस्थित भएकी थिइन् । राप्रपामा तीन महामन्त्री रहने व्यवस्था छ, जसमध्ये एकजना अनिवार्य महिला हुनुपर्छ ।

सोही महिला कोटामा रेखाले आफ्नो दावी प्रस्तुत गरेकी हुन् । उनले औपचारिकरुपमा नबोले पनि निकटस्थहरुसँग ‘केन्द्रीय सदस्यभन्दा माथि लड्ने’ बताइरहेकी छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले समयको पदचाप बुझेर मार्गप्रशस्त गर्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा सुरू भएको राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले पार्टीका ३ अध्यक्षमध्ये पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पुनः अध्यक्ष नबन्ने घोषणा गरेकोमा धन्यवाद दिए ।

‘हाम्रा अध्यक्षहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले महत्वपूर्ण कदम लिनुभएको छ । अहिलेका अध्यक्षलाई पनि आग्रह गर्दछु, समयको पदचाप बुझ्नुहोस् । राप्रपालाई अगाडि बढाउने बाटो खोलिदिनुहोस्’, लिङदेनले भने ।

उनले पछिल्लो एकीकरणयता पार्टी निष्क्रिय बनेको भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा रहेका जनतालाई नेतृत्व गर्नपनि राप्रपाको कार्यकारी पदमा नयाँ नेतृत्व चाहिने बताए ।

‘हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा हजारौं जनता सडकमा छन् । तर, राप्रपा किन बेपत्ता अवस्थामा छ ? राप्रपाको गतिविधि २ वर्षदेखि शून्य भएको छ । यही शैलीबाट यो पार्टी अगाडि बढ्न सक्दैन । एकपटक कार्यकारी नेतृत्व फेरेरै हेर्नुपर्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस