ताजा समाचार

एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा भने सहभागी

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार १३:३० (1 महिना अघि)    १३२ जनाले पढ़िसके

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी भएनन् ।

पार्टीको पूर्वनिर्धारितक कार्यक्रम रहेकोले महाधिवेशनमा सहभागी हुन नसक्ने भन्दै उनले प्रतिनिधिको रुपमा एमाले महाधिवेशनमा लिलामणि पोखरेललाई पठाए ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदाताका नै दुश्मनीका कारण एमालेको महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको उद्घाटन सत्रमा भने सहभागी भएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुगेका हुन् । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् ।

यसैबीच, काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको राप्रपाको महाधिवेशनमा संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टीको झन्डोतोलन गरेका छन् ।

एकता महाधिवेशनलाई सम्बोधन गर्न पार्टी नेतृत्वका साथै माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालगायत नेताहरू कार्यक्रमस्थल पुगेका छन् ।

अरू नेताहरू पनि पुग्नेक्रममा रहेको बताइएको छ । महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने बताइएको छ ।

यो एकता महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । एक अध्यक्ष ६ उपाध्यक्ष, ६ महामन्त्री, एक कोषाध्यक्ष, सात सहमहामन्त्री र सात सहायक महामन्त्री चयन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस