ताजा समाचार

आजदेखि झनै चिसो बढ्दै, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

नेप्लिज संवाददाता १५ मंसिर २०७८, बुधबार ०७:१५ (1 महिना अघि)    ११८ जनाले पढ़िसके

काठमाडौं । आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहने भएको छ ।

अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू–भागहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने मौसमविद्ले बताएका छन् ।

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको बताएको छ । आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

यस्तै भोली बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

बिहीबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। पहाडी भू–भागको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस