ताजा समाचार

यी हुन् मुगु बस दुर्घटनामा ज्यान जोगाउन सफल ६ वर्षीया भूमिका

नेप्लिज संवाददाता २७ आश्विन २०७८, बुधबार १६:५६ (1 हप्ता अघि)    २२१ जनाले पढ़िसके

काठमाडौं । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस दुर्घटनामा परी ३२ जनाको ज्यान गयो ।

भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा भीरबाट झण्डै ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार जना घाइतेको उपचारका क्रममा बाँकेमा ज्यान गएको थियो भने अरुको घटनास्थलमै ज्यान गएको थियो ।

चाडपर्वको बेला यति ठूलो मानवीय क्षति हुँदा मुगु जिल्ला शोकमा डुबेको छ। अझ अधिकांश मृतकहरू छायानाथ रारा नगरकै छन्। यो दुर्घटनाले धेरैलाई स्तब्ध बनाएको छ।

बसमा चालकसहित ४६ जना सवार थिए। जुन सिट क्षमताभन्दा बढी हो। जसमध्ये १३ जना घाइते छन्।

घाइते १२ को अवस्था अहिले खतरामुक्त भएको कर्णाली प्रहरी प्रदेश कार्यालयले जनाएको छ। एक जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ।

सडकबाट झण्डै तीन सयमिटर तल खसेपछि बस क्षतविक्षत भयो। बस धेरै पटक पल्टियो। पाटपूर्जा छरपस्ट भयो।

ठूलो आवाज आएपछि त्यहाँका स्थानीयहरू घटनास्थल पुगे। प्रहरीलाई पनि पौने २ बजेतिर खबर भयो।

त्यसैबीच बसमा सवार रहेकी तथा दुर्घटनामा परेकी छायानाथ रारा नगरपालिका वडा नम्बर ३ की ६ वर्षीया भूमिका खड्का भने जोगिइन्। उनी सामान्य अवस्थामा छिन्।

उनको दायाँ हात र टाउकोमा सामान्य चोट लागेको छ। स्थानीयले उनलाई सकुशल भेटाएपछि मोटरसाइकलमै राखेर अस्पताल पुर्‍याए।

उनको मुगु अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले उनी डिस्चार्ज भइसकेकी छन्।

अहिलेसम्म दुर्घटनामा परी घाइतेमध्ये १३ जनाको उपचार जारी रहेको र गम्भीर अवस्थाका १२ जना घाइतेहरूलाई समिट एअर र नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बाँके लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तर एक जना ६ वर्षीया बालिका भूमिका खड्काको अवस्था भने सामान्य रहेको उद्धारम खटिएका प्रहरीले जनाएको छ ।

उनी आफ्नी आमा उजेली रावल खड्कासँगै काठमाडौंबाट मुगु जाँदै थिइन्।

आमा–छोरी दुबैले नेपालगन्जबाट त्यो बस चढेका थिए। तर आमा घटना हुनु एक डेढ घण्टा अघि नै आफन्तको घरमा झरिन्।

उनी भोलिपल्ट मात्रै घर जाने तयारीमा थिइन्। यता छोरी भूमिका बाजेको घर जान चाहन्थिन्। नजिकै छ भनेर उनले छोरीलाई जान दिइन्।

उनी त्यही बस चढेर बाजेको घर जाँदै थिइन्। त्यत्तिकैमा बस दुर्घटनामा पर्‍यो।

बससँगै उनी झण्डै तीन सय मिटर तल खसिन्। सेतोपाटीले लेखेको खबर अनुसार त्यसरी खसेर पनि ती बालिका सामान्य अवस्थामै भेटिएपछि प्रहरी पनि चकित छन् ।


प्रतिक्रिया दिनुहोस