ताजा समाचार

सत्ता साझेदार दलबीच मनमुटाव सुरु, कांग्रेसबाहेका दलहरुको नयाँ गठबन्धन बनाउनेसम्मको यस्तो चेतावनी !

नेप्लिज संवाददाता २६ आश्विन २०७८, मंगलवार २०:२६ (1 हप्ता अघि)    १३० जनाले पढ़िसके

कास्की । नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै गण्डक प्रदेशमा सत्ता साझेदार दलहरूबीच मनमुटाव सुरु भएको छ ।

माओवादी र जनता समाजवादी पार्टीका नेताहरुले मन्त्री नियुक्तीमा असहमति जनाएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन् ।

शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।

यसमा आफूहरुको सहमति नभएकोले शपथमा ग्रहण कार्यक्रममासमेत सहभागी नभएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

केन्द्रमा कुरा भएको भए आफूहरुलाई पनि जानकारी भएको हुनुपर्ने भन्दै उनले पार्टीले केही नभनेको र यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने र आफूहरुको पनि गर्नुपर्ने बताए ।

मन्त्री थप्न १२ भन्दा बढि नपाइने भन्दै उनले अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न पटक–पटक भनिएको तर मुख्यमन्त्रीले नसुनेको आरोप लगाए ।

‘यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गरोस् । अध्यक्षले मलाई सिधै भन्नुपर्ने हो,’ चुमानले भने, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो । यसरी नै जाने हो भने, के–के हुन्छ के–के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्‍यो नि त । भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौं ।’

कांग्रेसले योसँगै ६ वटा मन्त्रालय पाएको छ । माओवादी प्रमुख सत्ता साझेदार दल हो ।

माओवादीका चार, जसपाका एक र अर्को एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् । यस्तै जसपाका नेता तथा उर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले मनलाग्दी गरेको आरोप लगाएका छन् ।

यो कांग्रेसको मात्रै जस्तो सरकार भएको भन्दै उनले आफू केही समय नबोली बसेको तर अब बोल्न बाध्य भएको बताए । उनले कांग्रेसविरुद्ध फरक मोर्चा बनाउने चेतावनी दिएका छन् ।

हिजो केपी ओलीले संविधान नमान्दा संविधान मान्नेहरूको एलाइन्स बनेको भन्दै उनले आज गठबन्धनको मुल्यमान्यता विपरित गए लोकतन्त्रको उपहास गर्ने विरुद्ध मोर्चा बन्ने बताए ।

उनले फरक एलाइन्स बन्न सक्ने भन्दै कांग्रेसविरुद्धमा अर्को मोर्चा बन्ने बताए । जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति तोडेर कांग्रेसले आफ्नो मात्रै मन्त्री थपेको छ ।

गण्डकीमा एमालेका २७ सांसद प्रतिपक्षमा रहेका छन् । जनमोर्चा पनि सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदैन । गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् ।

 


प्रतिक्रिया दिनुहोस