ताजा समाचार

मुगुमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, अरुको अवस्था कस्तो छ ? (अपडेटसहित)

नेप्लिज संवाददाता २६ आश्विन २०७८, मंगलवार १७:५६ (1 हप्ता अघि)    १४८ जनाले पढ़िसके

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको हो ।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।

घटनास्थलमा २४ जनाको र चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको पनि ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

उनले भने – ‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं, बाँकेमा अहिले भर्खरै बुझ्दा थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ। कुल मृत्यु हुनेको संख्या ३२ पुग्यो।’

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको उनले बताए।

समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज उपचारका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।


प्रतिक्रिया दिनुहोस