ताजा समाचार

महानायक र महानायिका विवादबारे यी वरिष्ठ कलाकारले पनि खोले मुख !

नेप्लिज संवाददाता १७ आश्विन २०७८, आईतवार ०८:२३ (2 हप्ता अघि)    २८८ जनाले पढ़िसके

काठमाडौं । मनगढन्ते उपाधि लिने र दिनेहरूप्रति वरिष्ठ कलाकार कृष्ण मल्लले असन्तुष्टि व्यक्त गरेका छन् ।

चलचित्र क्षेत्र इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला केही महानायक र महानायिकाको आत्मरतिमा रमाइरहेको भन्दै उनले चित्त दु्खाएका हुन् ।

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभामा बोल्दै उनले भने – –यदि तपाईंहरु महान् हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न । तपाईंहरु महान् होइन, दर्शक महान् हुन् ।

कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरू अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गरे ।

आफूलाई समस्या पर्दा संघ चाहिने तर यत्रो साधारण सभामा नआउने भन्दै उनीहरू यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई संघले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

त्यस्तै बसुन्धरा भुसालले कलाकार संघले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरूको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरूप्रति असन्तुष्टि व्यक्त गरिन् ।

संघको १८ औं साधारण सभा शनिबार काठमाडौँमा सम्पन्न भएको छ ।

समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रवीन्द्र खड्काले आफ्ना भनाइहरू राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाई सम्बोधन गर्दै दसैँअघि नै नेपालभरका सिनेमा हलहरू खुल्ने जानकारी गराउँदै बोर्डले गरेका अन्य महत्त्वपूर्ण कामहरूको बारेका जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस