ताजा समाचार

आज ईपीएल क्रिकेटमा दुई खेल हुँदै, को–को भिड्दै छन् ?

नेप्लिज संवाददाता १७ आश्विन २०७८, आईतवार ०८:१० (2 हप्ता अघि)    १०० जनाले पढ़िसके

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने चौंथो संस्करणको ईपीएल क्रिकेटमा पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन ।

विराटनगर अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र चितवनबीचको खेल दिउँसो १स्३० बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।

चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस