ताजा समाचार

सडक विभाग र खानेपानी विभागलाई कारण देखाउँदै कुलमानले गरे यस्तो गुनासो !

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १९:१३ (3 हप्ता अघि)    १३६ जनाले पढ़िसके

काठमाडौं । सडक विभाग, खानेपानी विभागलगायत निकायका कारण बिजुलीका तार केबल अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ ।

तार अन्डरग्राउन्ड गर्ने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको भन्दै उनले ती समस्या समाधान गरेर देशमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको बताए ।

काठमाण्डौमा भइको कार्यक्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।

उनले झन्डै ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सहयोग गरेको बताए ।

प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले झन्डै ९५ प्रतिशत विद्युतीकरण भइसकेको भन्दै कार्यकारी निर्देशक घिसिङले यसबाट हरेक घरमा हाम्रो पोल पुगेको र यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फ्रास्ट्रकचर भएको बताए ।

‘कुनै पनि फाइबर तान्नुपर्‍यो भने त्यही पोल प्रयोग हुन्छ र फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तर्गत आइरहेका छौँ, त्यो नेपाल विद्युत् प्राधिकरणको इन्फ्रास्ट्रचरले धेरै सहयोग गरेको छ ।’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताबाट वार्षिक झन्डै ७० अर्ब आयआर्जन गरिरहेको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस