ताजा समाचार

देउवाको दूत बनेर कानून मन्त्री कार्की फेरि पुगे बालकोट, ओलीले यस्तो जवाफ दिएर पठाए !

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १३:३६ (3 हप्ता अघि)    १५१ जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा कानून मन्त्री ज्ञानेन्द्रवहादुर कार्की मंगलवार विहान बालकोट पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री देउवाले आफ्नो दुतको रुपमा मन्त्री कार्कीलाई पठाएका हुन् ।

ओलीले देउवालाई कानुनमन्त्रीमार्फत सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी भएको सन्देश पठाएका हुन् ।

त्यस्तै उनले देउवाको यस्तो कामले सरकार र प्रतिपक्षको सम्बन्ध नराम्रो हुने भन्ने पनि उल्लेख गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न देउवाको दूतका रुपमा मन्त्री कार्की बालकोट पुगेको यो तेस्रोपटक हो ।

देउवाले दल विभाजन सम्बन्धी अध्यादेश हिजो सोमबार खारेज गरेका थिए ।

यस्‍तो छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग आज भएको भेटमा उनीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशः

सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।

रामशरण बजगाईं

सम्प्रेषक

१२ असोज २०७८


प्रतिक्रिया दिनुहोस