ताजा समाचार

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनले गर्ने दिशानिर्देश

ध्रुवप्रसाद रिजाल १७ भाद्र २०७८, बिहीबार २०:४४ (1 महिना अघि)    ६४५ जनाले पढ़िसके

नेपालमा राणा शासन हटाएर प्रजातन्त्र स्थापना गर्न गठन भएको पार्टी हो नेपाली काँग्रेस । वि.सं. १९०३ सालमा स्थापना भएको राणा शासनले जनतालाई राहत दिनुको सट्टा आहत दिए र सम्पूर्ण नागरिकको हक अधिकार राणाले आफ्नै हातमा लिएपछि उक्त शासन हटाएर प्रजातन्त्र स्थापना गर्न विभिन्न समितिहरु बने तर जनताको अधिकार प्राप्त भएन ।

वि.सं. १९९३ सालमा प्रजा परिषद् नामको राजनैतिक दलको स्थापना भयो जसको सभापति टङ्कप्रसाद आचार्य थिए । यो दल नेपालको पहिलो वा जेठो राजनैतिक दल हो ।

उक्त दल पनि बन्देज जस्तै भयो र त्यसमा संलग्न सबैलाई जेलमा लाने र कोहीलाई वि.सं. १९७ सालमा फाँसी दिइयो । वि.सं. २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गर्न कलकतामा प्रथम अधिवेशन बोलाउने सन् १९४६ डिसेम्बर ३ र ४ मा निर्णय भए अनुसार विभिन्न ठाउँबाट आएका २०० भन्दा बढी प्रतिनिधिहरुले सर्वसम्मत ‘नेपाली राष्ट्रिय काँग्रेस’को स्थापना गरे ।

सन् १९४६ डिसेम्बर ३ र ४ मा बसेको बैठकले नवस्थापित पार्टीको झण्डाको बनोट तयार पार्ने जिम्मा गोपालप्रसाद भट्टराई, देवब्रत परियार र डी. एन प्रधानलाई दिइएको थियो भने त्यस्तै विधानको मस्यौदा तर्जुमा गर्ने जिम्मा बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई र ईश्वर बरालको तीन सदस्य समितिलाई दिइएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस विभाजन भई वि.सं. २००५ साल पौष १५ गते महेन्द्र विक्रम शाहको सभापतित्वमा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना हुन पुग्यो । वि.सं. २००६ साल चैत्र २७ अर्थात् सन् १९५० को अप्रिल ९ मा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र मिलाएर ‘नेपाली काँग्रेस’ बनाइयो जसको सभापति मातृकाप्रसाद कोइराला भए ।

नेपाली काँग्रेसको प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रह्यो । वि.सं. २००३ सालमा नेपाली काँग्रेसको स्थापना भएपछि जयतु संस्कृतम् आन्दोलन अगाडि बढायो । यो आन्दोलनको उद्देश्य संस्कृत पाठशालामा पनि इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्रका साथै अन्य विषयहरु पठनपाठन गराउनुपर्छ भन्ने थियो ।

वि.सं. २००४ साल वैशाख १ गतेदेखि देशव्यापी रुपमा शान्तिपूर्वक तवरले सत्याग्रह सञ्चालन गर्ने निर्णय अनुसार मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तीन जनालाई सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।

सत्याग्रह गर्नुपर्ने कारण यसप्रकार स्पष्ट पारिएको थियो –“नेपालमा कसैलाई नागरिक अधिकार उपभोग गर्ने अधिकार छैन । सभासम्मेलन गर्न पाइँदैन । संगठन गैह्रकानुनी ठहरिन्छ । पत्रपत्रिका प्रकाशन गर्न प्रतिबन्ध छ । जनता अँध्यारोमा हिँडेको जस्तो अस्थामा छन् । पर्चा बाँडे भन्ने कसूरमा गंगालाल, दशरथचन्द, शुक्रराज शास्त्री र धर्मभक्तलाई फाँसी दिइयो । ६ वर्षभन्दा पनि बढी समयदेखि टंकप्रसाद आचार्य र उनका ३ जना साथीहरु जेलमा नै छन् । विराटनगरको अहिंसात्मक मजदुर आन्दोलनमा गोली हानेर आन्दोलनकारीलाई मारियो । पुरुषलाई मात्र होइन, दिव्या कोइराला र अरु महिला दिदीबहिनीहरुलाई समेत निर्ममताका साथ कुटपिट गरेर थुनामा राखियो । यिनै कारणले गर्दा नेपाली राष्ट्रिय काँग्रेसको निमित्त सत्याग्रह गर्नु बाहेक अरु कुनै बाटो रहेन ।”

यी माथिका भनाइबाट पनि नेपाली काँग्रेसको प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रहेको प्रष्ट हुन्छ । नेपाली काँग्रेसले सशस्त्र संघर्ष गर्ने दुई किसिमबाट कार्य विभाजन ग¥यो, आन्तरिक र बाह्य । बाह्य रुपको गतिविधिमा सभापति मातृकाप्रसाद कोइराला र अन्य नेताहरु थिए भने आन्तरिक रुपमा सशस्त्र क्रान्तिको तयारीमा वी.पी. कोइराला र सुवर्ण शमशेर थिए ।

जी.वी. याक थुम्वा, पुरनसिंह खवास, डी.वी. राई, नारायण सिंह शाह र दिलमान सिंह थापा जस्ता सेनामा काम गरी सकेका व्यक्तहरुलाई वर्मा र भारतको विभिन्न भागमा रहेका भूतपूर्व सैनिकहरुको संगठन गर्ने जिम्मा दिइएको थियो । कलकत्ता, दार्जिलिङ, गोहाटी, देहरादुन आदि ठाउँमा काँग्रेसले सैनिक शिविर खडा गरेका थिए । यो अभियान राणा शासन हटाएर प्रजातन्त्र स्थापना गर्न क्रान्तिको तयारी थियो ।

सन् १९५० को जुन १५, १६ र १७ का दिन कलकतामा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले यथाशीघ्र जनक्रान्ति प्रारम्भ गर्ने र त्यो क्रान्ति देशभित्रबाट सञ्चालन गर्ने नीति अपनाइयो । राजा त्रिभुवनसँग सम्पर्क गर्ने र नारायणहिटी राजदरबारबाट भगाएर सुरक्षित स्थानमा राख्ने त्यस क्षेत्रलाई मुक्तक्षेत्र घोषित गर्ने नीति अनुसार त्यो कार्यको जिम्मेवारी गणेशमान सिंहले लिए ।

वि.सं. २००७ साल कार्तिक २६ पछि भएको क्रान्तिमा मलंगवा, जनकपुर, चैनपुर, रामेछाप, मेलुङ, चरीकोट, सिन्धुली, पशुपतिनगर, धुलाबारी, घोराही, तुलसीपुर, बिजौरी, प्युठान, सल्यान, बाग्लुङ, कुस्मा, पोखरा, बुधबारे, अनारमणी, विर्ता, भद्रपुर, बहादुरगञ्ज, कोइलावास, गोरखा, डडेल्धुरा, डोटी, बैतडी, अछाम, सुर्खेत, दैलेख, दुल्लु, नेपालगञ्ज लगायत आदि ठाउँ नेपाली काँग्रेसको नेतृत्वमा भएको मुक्तिसेनाको हातमा आयो । राणा प्रधानमन्त्री मोहन शमशेर बाह्य भएर भारतको मध्यस्थतामा दिल्ली सम्झौता गर्न पुगे ।

नेपाली काँग्रेस, राजा र राणाको बीचमा सम्झौता भयो र वि.सं. २००७ साल फाल्गुण ७ गते १०४ वर्ष चलेको राणाशासन समाप्त भई प्रजातन्त्र घोषणा भयो ।

यसरी प्रजातन्त्र स्थापनामा नेपाली काँग्रेसको भूमिका रह्यो र हामी यही पार्टीका कार्यकर्ता भएको नाताले कति दुःख गरेर जनताको शासन प्रजातन्त्र ल्याएको कुरालाई मध्यनजर गर्दै गुटउपगुटको अन्त्य गरी जनताको हितमा लाग्नुपर्छ । साथै १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ ।

वि.सं. २००३ सालदेखि २०७८ सालसम्म आइपुग्दा यस दलको १३ औँ महाधिवेशन सम्पन्न भइसकेको छ । प्रत्येक महाधिवेशनमा केही न केही नयाँ नीति÷दस्तावेज पारित भएको पाइन्छ ।

१४ औँ महाधिवेशनमा पनि पारित होला, हुनु पनि पर्छ । १४ औँ महाधिवेशन गर्नुपर्ने समय १८ महिना बितिसकेको छ । स्वास्थ्य सम्बन्धि (कोभिड) समस्या देखाउँदै पार्टीले अधिवेशन पर सार्दै गरेको कुरा तपाईँ हामी सामु छर्लङ्ग भइसकेको छ । बेलाबेलामा नेपालका दलहरु टुक्रने क्रम त नयाँ हैन । तर पनि बहुदलीय व्यवस्थामा दल मजबुत भए नै देश र जनताको विकास हुन्छ ।

एउटा दल फुट्दा अर्को दलले खुसी त मनाउलान् तर त्यसको जनतामा दलप्रतिको विश्वास घट्न गई अविश्वास बढ्दै जान्छ । जब जनताले दलप्रति विश्वास गर्न सक्दैनन् लोकतन्त्र संस्थागत हुन सक्दैन । यही जनताको दलप्रतिको अविश्वास बढिरहेको बेलामा नेपालको प्रजातान्त्रिक दल नेपाली काँग्रेस आफ्नो दलको १४ औँ अधिवेशनमा जुटेको छ ।

नेपालका दलहरुमध्ये बरु तैविशेक नेपाली काँग्रेस नै जनता र देशको बारेमा सोच्ने दल होकि भन्ने आवाज पनि सुनिन थालेको पाइन्छ । यसै समयमा अधिवेशन हुँदैछ । अर्कोतिर झण्डै २/३ सिट प्राप्त भएको कम्युनिष्टको सरकार पनि असफल भई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व समालेका छन् ।

यसै समयमा हुने पार्टीको महाधिवेशनलाई चासोका रुपमा हेर्न थालिएको छ । अधिवेशनको मिति पटक पटक परिवर्तन भई ०७८ साल भाद्र १८ गतेबाट सुरु हुने तालिका आएको छ । तल्लो तह वडा अधिवेशन भाद्र १८ गते हुने कुरा तालिकामा छ ।

दलको नेतादेखि कार्यकर्ताहरु समूह–समूह अर्थात् गुट उपगुटमा देखिन थालेका छन् । यसले दललाई फाइदा पुग्छ भन्ने मलाई लाग्दैन । २०४० सालदेखि राजनैतिक क्षेत्रमा चासो राखेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली काँग्रेससँग आबद्ध भएको हुनाले यो १४ औँ महाधिवेशन कसरी सम्पन्न गर्नुपर्छ भन्ने सम्बन्धमा आफ्नो विचार राख्ने कोसिस गरेको छु ।

अहिले नेतादेखि कार्यकर्तासम्म कसरी आफ्नो पद सुरक्षित राख्ने, कसरी निर्वाचनमा आफूले आफ्नो गुटले जित्ने भनेर तल्लो तह वडासम्म पनि ग्रुपमा देखिन थालेका छन् । यो नेपाली काँग्रेसको लागि राम्रो लक्षण होइन । गुटभन्दा दल माथि भन्ने सोच्नुपर्छ । समपूर्ण जनताले भरोसाको केन्द्र नेपाली काँग्रेसलाई मानेको बेलामा नेतागणले बुद्धि पु¥याउनुपर्ने बेला आएको छ ।

केन्द्रीय स्तरका नेताहरु पद पाइरहेकाले सो पद फेरि जोगाउने, पद नपाएका नेताले पद प्राप्त गर्ने आशा राख्नु नराम्रो होइन तर त्यसै बहानामा काँग्रेसलाई गुटउपगुटमा लाग्न उचालिरहने कार्य राम्रो हुँदैन । तपाईँहरु पदको लागि केन्द्रमा प्रतिस्पर्धा गर्नुहोस् तर वडा तहसम्म ओर्लेर काँग्रेस विखण्डन गर्ने काम गर्नुहुन्न मेरो अनुरोध छ । आन्तरिक त तपाईँले जित्नुहोला तर बाह्य जित्न असर पर्छ ।

यो महाधिवेशनलाई आउँदो वर्ष हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्नो दल नेपाली काँग्रेसलाई बाह्यसँग जिताउने खालको अधिवेशनको रुपमा सबै जना लागेर परिणत गराउनुपर्छ । यसले नै नेपाली काँग्रेसको, नेपाली जनताको हित हुनेछ । वर्तमान नेपाली काँग्रेसको विधान अनुसार हेर्ने हो भने केन्द्रदेखि वडा तहसमम धेरै पदहरु छन् । संगठन गर्ने इमान्दार, क्षमतावान् कार्यकर्ता र नेताहरुभन्दा पदहरु बढी भएको देखिन्छ ।

गुट उपगुट श्रृजना गर्न समय खर्च गर्नुभन्दा वडा तहदेखि केन्द्रीय तहसम्म विभिन्न किसिमका प्रस्तावहरु पारित गर्न छलफल अगाडि बढाउनुपर्छ ।

जस्तै : सांगठनिक प्रस्ताव, शैक्षिक, आर्थिक, स्वास्थ्य, समसामयिक, अन्य दलप्रति हेर्ने दृष्टिकोण आदि । शिक्षा नीति कस्तो हुने, संगठन गर्ने रणनीतिहरु कस्तो हुने, काँग्रेसको विदेश नीति कस्तो हुने आदि यिनीहरुको बारेमा वडा तहदेखि छलफल गराई पारित गर्दै केन्द्रीय तहले पारित गरेपछि कार्यान्वयनको पाटोमा लैजानुपर्छ ।

काँग्रेसको तर्फबाट टिकट पाई जितेका विभिन्न तहका जनप्रतिनिधिहरुलाई यही पारित भएका दस्तावेजको आधारमा कार्य गर्न निर्देशन दिनुपर्छ । तर अहिले त्यस्तो मैले देखेको छैन । केन्द्र तहमा सामान्य खालको बन्द सत्र गरे पनि जिल्ला लगायत अन्य तहमा खुला सत्र र बन्द सत्रको व्यवस्थापन भएको पाइँदैन नगन्य जिल्लामा होला ।

बन्द सत्रमा अघिल्लो अधिवेशनदेखि वर्तमानसम्म आइपुग्दा नेपाली काँग्रेसको गतिविधि केके भयो ? केके समस्याहरु आए ? समाधान कसरी भए ? बाह्यसँगको निर्वाचनमा कस्तो परिणाम आयो ? उक्त परिणाम आउनुमा केके कुरा जिम्मेवार भए ? संगठन विगत अधिवेशनदेखि अहिले आउँदा बढ्यो÷घट्यो ? संगठनको छवि राम्रो नराम्रो केके भए, नेपाली काँग्रेसको तर्फबाट टिकट पाएर जितेका जनप्रतिनिधिले पार्टी र जनतामा सकारात्मक नकारात्मक केके प्रभाव पारे ? ती सबै पक्षको वडा तहदेखि केन्द्रीय तहसम्म आ–आफ्नो तहमा छलफल र योजना बनाउनुपर्छ । अधिवेशनको मुल मर्म भनेकै भएको कार्यको समीक्षा र भावी योजना निर्माण गर्नु हो ।

कार्यको समीक्षा र भावी रणनीति दलको अधिवेशनको मूल विषय हुन् । यो मूल विषयमा ध्यान नदिँदा काँग्रेसको संगठन अगाडि बढ्न नसकेको हो । अर्को पक्ष भनेको विभिन्न तहका कार्यसमितिले गरेका कार्यको समीक्षा तथा मूल्याङ्कन हो ।

कुन व्यक्तिले आफ्नो पदको जिम्मेवारी पुरा गरे संगठन मजबुत बनाउने कार्यमा लागे, कुन पदमा रहेका व्यक्ति व्यक्तिगत स्वार्थमा लागेर संगठनको नाम बेचेर संगठन विपरित कार्यमा लागे त्यसको समीक्षा र मूल्याङ्कन गर्नुपर्छ । यसले आगामी कार्यसमिति निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

यो १४ औँ अधिवेशन गरिरहँदा नेपाली काँग्रेसका नेता कार्यकर्ताले र सक्रिय सदस्यले आफ्नो दलको अधिवेशन सम्पन्न गर्न विशेष ध्यान दिनुपर्छ । चासो दिनुपर्छ । भविष्य हेर्नुपर्छ । नेताले जिल्ला जिल्लामा सही निर्देशन दिनुपर्छ जसरी भए नि हाम्रो गुटको धेरै मान्छे ल्याउनुपर्छ भनेर जिल्लामा निर्देशन दिँदा संगठन गर्ने राम्रो मान्छे संगठनको मान्छेको सट्टा हाम्रो र मेरो मान्छे अगाडि बढ्न जान्छ जसले गर्दा आन्तरिक जीत त हातमा आउला तर अर्को अधिवेशनसम्म पुग्दा संगठन धाराशायी बन्न पुग्छ ।

जिल्लामा जो जो महाधिवेशन प्रतिनिधि भएर आए पनि तपाईँहरुकै कार्यकर्ता जाने हुन् । गएकालाई आफ्नो भिजन देखाएर आफ्नो पक्षमा पार्ने काम गर्नुहोस् त्यसले संगठन बिग्रँदैन । त्यस्तै जिल्ला स्तरका नेताहरुले पालिका र वडामा निर्देशन दिँदा गुट उपगुटको श्रृजना नगराई राम्रो संगठन व्यक्तिलाई क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा राख्नुपर्छ मेरो र तेरो भन्नु हुन्न भनेर निर्देशन दिन सक्नुपर्छ ।

जिल्ला कार्यसमिति गठन गर्न, संघीय क्षेत्रीय समिति, पालिका स्तरीय समिति गठन गर्न आएका प्रतिनिधिहरु जोजो व्यक्ति आए पनि मेरै हो भन्न सक्नुपर्छ । फराकिलो छाती बनाउनुपर्छ तबमात्र तपाईँहरु नेताबाट माथि उठेर राजनेतामा परिणत हुनुहुनेछ नत्र तपाईँहरु नेताको रुपमा पनि नभई एउटा झुण्डको नेतृत्व गर्नेमा पुग्नुहुनेछ ।

तल्लो स्तर (वडा तह) मा गुट उपगुट श्रृजना गर्ने कि नगर्ने भन्ने जिल्ला स्तरीय नेताहरुमा भर पर्दछ । अधिवेशनमा नबुझेका मानिसलाई पनि मेरो र तेरो भनि गाउँगाउँमा विभाजन गराउने काम गर्नुहुन्छ अनि सभासदमा उठ्दा तेरो वडाबाट मत धेरै आएन भन्नुहुन्छ कार्यकर्तालाई । गुट उपगुट बनाउँदाको परिणाम प्रत्येक पटक बाह्यसँग हार्नुपरेको कारण जिल्ला स्तरीय नेताले बुझ्नुपर्छ । किनकि लामो समय केन्द्रिय राजनीतिमा बामपन्थ हावी भएको जिल्लामा यो उकता भएन भने अरु लामो समय हाम िपछि पर्नेछौं ।

कार्यकर्ता र सक्रिय सदस्यले झन् धेरै विचार पु¥याउनुपर्छ । कुनै व्यक्तिको नबनी नेपाली काँग्रेस बनेको खण्डमा संगठन मजबुत भई बाह्य सबै जित्न सक्छौँ । जुन जुन नेता कार्यकर्ताले मेरो र हाम्रो मान्छेलाई अगाडि बढाऔँ, प्रतिनिधि÷कार्यसमितिमा राख्ने भन्नुहुन्छ, त्यो कुरालाई वास्ता नगरी संगठन गर्ने मान्छेलाई अगाडि बढाउनु सक्रिय सदस्यको दायित्व हो ।

कुनै व्यक्तिसँग पनि झगडा नगरी “हाम्रो हैन संगठनको” नारा अगाडि सारेर अधिवेशन सम्पन्न गर्नुपर्छ । तल्लो तहदेखि माथिल्लो तहसम्मका नेतृत्वले पहिलो राष्ट्र दोस्रो जनता तेस्रो राजनीतिक दल चौँथो दलभित्रको आफ्नो समूह र पाँचौँ म भन्न सक्नुपर्छ । यदि यो अधिवेशनलाई गुट उपगुटमा विभाजित नभई हाम्रो को सट्टा राम्रो छान्ने र एकता गर्न सकिएन भने आउँदो ५ वर्ष सांगठिनक क्रियाकलाप अगाडि बढ्न सक्दैन साथै बाह्यसँगको निर्वाचनमा जीत हात पार्न गाह्रो हुन्छ । त्यसैले नेपाली काँग्रेसका सम्पूर्ण नेता कार्यकर्ताले सोचविचार गरी १४ औँ महाधिवेशनलाई एकताको अधिवेशन गरी सम्पन्न गर्नुपर्छ । यसमै काँग्रेस र नेपाली जनताको भलाइ हुनेछ ।

यी माथि उल्लेख गरिएका जे जति विकृति र पार्टी विखण्डनका कुराहरु छन् ती सबै समस्या समाधानको थालनी र एकताबद्ध बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

त्यसको लागि सबैले आ–आफ्नो तहबाट लाग्नुपर्ने हुन्छ । त्यही एकता गरी सांगठिनक क्रियाकलाप अगाडि बढाउन आउँदै गरेको नेपाली काँग्रेसको १४ आंँै महाधिवेशनमा आफ्नो क्षमता र हैसियतले धानेको तहमा तपाईँ हामी जस्ता एकता गराएर लानुपर्छ भन्ने व्यक्तिहरुबाट पनि उम्मेद्वारी दिनुपर्ने हो कि इमान्दार साथीहरुबाट सल्लाह सुझाव पाएमा राम्रो हुने थियो । हामी कार्यकर्ताहरु नेताले झुण्ड झुण्ड बनाएर हिड्न खोजेपनि नछुट्टिने प्रण गरौं ।

जय नेपाल !

ध्रुवप्रसाद रिजाल नीलकण्ठ न.पा.–३, धादिङका हुन् ।


प्रतिक्रिया दिनुहोस