ताजा समाचार

कलाकार सन्तोष पन्त किन विवादमा परे ? के हो विक्कीले प्रस्तुत गरेको पेन्टोमाइम अभियन ? (भिडियोसहित)

नेप्लिज संवाददाता १४ भाद्र २०७८, सोमबार ११:२२ (1 महिना अघि)    ४५७ जनाले पढ़िसके

 

काठमाडौं । कमेडि च्याम्पियनमा शनिवार राति अन्तिम ४ को प्रतिष्पर्धा चलिरहेको थियो । पालो आयो सिक्किमबाट आएका विक्की अग्रवालको ।

उनले स्टेजमा आएर अरुले भन्दा फरक प्रस्तुती प्रस्तुत गरे । अग्रवालले पेन्टोमाइम अभिनय गरेर देखाए ।

उनको अभिनय सकिने वित्तिकै निर्णायक भुमिकामा रहेका प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले खुलेरै प्रशंसा गरे ।

जोखिम मोलेरै भए पनि फरक प्रस्तुती दिएको भन्दै उनीहरुले निक्के तारिफ गरे ।

अब विक्कीको बारेमा बोल्ने पालो पाका कलाकार सन्तोष पन्तको आउँछ । विक्कीले प्रस्तुती दिँदा कोही पनि नहाँसेको भन्दै उनले खिल्ली उठाए ।

पाका कलाकार पन्तले विक्कीको अभियनयलाई आफूलेसमेत नबुझेको र यस्तो अभिनय कमेडी हुन नसक्ने बताएपछि अहिले उनको निक्कै चर्को आलोचना भइरहेको छ ।

कलाकार पन्तले बोलेलगत्तै विक्कीले आफूले केही भन्ने अनुमति मागे ।

अनि भने–‘मलाई पेन्टोमाइम अभिनय गरेको कारण कुनै पनि पश्चाताप छैन । कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ । शुक्रबार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो । म टप ४ बाट बाहिरिए भने पनि मलाई कुनै पश्चाताप हुने छैन । मलाई बाहिरिदा पनि केही फरक पर्दैन ।’

विक्कीको यो भनाईपछि मञ्चको एक छेउमा रहेका पुराना कलाकार किरण केसीले विक्कीको खुलेरै प्रशंशा गरे ।

उनले यस्तो पफमेन्स देखाउने ठाउँ अन्त कहिँ भेटिएन भने अहिलेको जमानामा आफ्नै मोबाइलको प्रयोग गर्नसमेत भने । उनले आफ्नो जीवनमा २०३२ सालतिर घटेको घटनासमेत सुनाए ।

यसलगत्तै निर्णायक भूमिकामा रहेका प्रदीप भट्टराईले क्रिकेट खेलको उदाहरण दिँदै फेरि विक्कीको प्रशंसा गर्न थाले ।

तर प्रदीप भट्टराई बोल्दाबोल्दै विक्कीले पाका कलाकार सन्तोष पन्तको त्यो अमिलो बचन सम्झिएर भक्कानिए । अनि बाहिरिए ।

सन्तोष पन्तको टिप्पणीलाई लिएर अहिले सामाजिक संजाल र विभिन्न माध्यमबाट आलोचना भइरहेको छ ।

पाका कलाकार पन्तले पेन्टोमाइम अभिनय बुझेनन् र यस्तो प्रतिक्रिया जनाएको भन्दै उनको चर्को आलोचना भएको हो ।

पेन्टोमाइम अभिनयको सुरुवात बेलायतबाट भएको हो । संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउनु यो अभिनयको विशेषता हो ।

विशेषगरि, बेलायत, आयरल्याण्ड लगायतका देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत गरिन्थ्यो । आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ ।

पश्चिमी संकृतीमा पेन्टोमाइमका एक लामो नाट्य इतिहास छ । विशेषगरि, यो शास्त्रीय रंगमञ्चसँग जोडिएको छ । अंग्रेजी पेन्टोमाइमको विकास कमेडियन डेल आर्टेबाट पनि प्रभावित छ ।

यहि अभिनय विक्कीले गरेका थिए । जुन कलाकार सन्तोष पन्तलाई मन परेन । कलाको आयम र विविधतालाई बुझ्न अनि स्वीकार्न नसकेको भन्दै कलाकार पन्तमाथि टिका–टिप्पणी सुरु भएको छ ।

सधै मुख बिगारेर गरिने क्यारिकेचरलाई मात्र कमेडी भन्न नमिल्ने दर्शकहरुको भनाई छ । युटुबमा आएका प्रतिक्रियामा पनि अधिकांशले विक्कीको प्रस्तुतिको तारिफ गरेका छन् ।

विक्कीले फाइनलमा पुग्नका लागि जुन खालको प्रस्तुति दिए, त्यो आफैमा जोखिमपूर्ण थियो ।

विक्कीको प्रस्तुती र कलाकार सन्तोष पन्तको प्रतिक्रियाबारे यो भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस