ताजा समाचार

सूर्य चिन्हबाट सांसद बनेकाहरु कांग्रेस–माओवादी गठबन्धन सरकारमा सहभागी, एमालेले सोध्यो यस्तो स्पष्टीकरण

नेप्लिज संवाददाता २९ श्रावण २०७८, शुक्रबार ०९:४१ (2 महिना अघि)    ३८६ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

चार दलीय गठबन्धनलाई सघाएको भन्दै एमालेले एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले बताए।

शाहीलाई लिखित स्पष्टीकरण र वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको छ ।

एमालेले बहिस्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन्।

नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको जनाएका थिए।

उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव एमाले फर्केर मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए।

हृदयेश त्रिपाठीनिकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताए।

एमालेले कारबाही गर्ने भनेकी वलीले यसअघि नै पत्रकार सम्मेलन गरी माओवादी रोजेको जानकारी गराएकी थिइन्।


प्रतिक्रिया दिनुहोस