ताजा समाचार

मेलम्चीमा फेरि लेदोसहितको बाढी, मानिसहरुको भागाभाग

नेप्लिज संवाददाता १७ श्रावण २०७८, आईतवार ०६:२८ (1 महिना अघि)    १९३ जनाले पढ़िसके

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति फेरि बाढी आएको छ । गत असार १ गते विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा पुनः त्यस्तै बाढी आएको हो ।

राति करिब ९ बजेपछि काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । बाढीका कारण मानिसहरुको भागाभाग भएको छ ।

असार १ गतेजस्तै बाढी आइरहेको र चनौटे बजारदेखि ग्याल्थुङसम्म बगिरहेको जनाइएको छ । बाढीबाट मानवीय क्षति भने अहिलेसम्म भएको छैन । अन्य क्षतिको भने विवरण आउन बाँकी छ ।

चनौटे बजारको बीच भागबाट बाढी बगिरहेको भएपनि त्यहाँका स्थानीयलाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति नभएको हो । भौतिक क्षति भने भएको हुनसक्ने आकलन गरिएको छ ।

हेलम्बु, मेलम्ची, चौतारा अन्तर्गतका सबै ठाउँमा सुरक्षा निकाय परिचालित गरी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको छ । प्रहरीले यसअघि नै दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरेको थियो ।

माथिल्लो भेगमा पहिरो गएर नदी थुनिएको र त्यसपछि एक्कासी बग्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस