ताजा समाचार

अन्ततः सरकार फेरि अल्पमतमा !

नेप्लिज संवाददाता १६ श्रावण २०७८, शनिबार ०७:१८ (1 महिना अघि)    १८९ जनाले पढ़िसके

काठमाडौं । लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् ।

सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पना अर्घाखाँचीबाट समानुपातिक सांसद थिए । उनीहरू पदमुक्त भएसँगै शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

विजयबहादुर यादव, कल्पना पाण्डे र सन्तोषकुमार पाण्डेय पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई गत मंगलबार जसपाको केन्द्रीय कार्यकारिणी समितिले पार्टीबाट निष्कासन गरेको थियो ।

जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा निष्कासनसम्बन्धी पत्र दर्ता गरेको थियो । उनीहरू पदमुक्त भएको सूचना शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेका हुन् ।

पार्टी सदस्य नरहेको व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ ९२० प्रदेशसभा नियमावली, २०७४ को नियम १९१ अनुसार पदमुक्त गरिएको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा एमालेका अमरबहादुर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थी पनि यसअघि नै पदमुक्त भइसकेका छन् ।

जसपाका ३ सदस्य पदमुक्त भएपछि प्रदेशसभा ८० सदस्यीय भएको छ । जसमा एमालेका ३८ जना छन् । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा भने ४१ सदस्य (सभामुखबाहेक) छन् ।

विपक्षी गठबन्धनले बहुमत दाबी गर्ने

विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर शनिबार आफ्नो बहुमत दाबी गर्ने भएको छ । त्यसका लागि सभामुख पूर्णबहादुर घर्तीसहितका ४२ सदस्य प्रदेश प्रमुखकहाँ जाने कार्यक्रम तय भएको छ ।

भौतिक उपस्थितिमार्फत प्रदेश प्रमुखलाई वर्तमान सरकार अल्पमतमा रहेको र विपक्षी गठबन्धनमा बहुमत रहेको जानकारी दिने तयारी रहेको कांग्रेसका मुख्य सचेतक फकरुद्दिन खानले बताए ।

‘अल्पमतमा परेको जानकारीपछि मुख्यमन्त्रीले आफैं राजीनामा दिएर बाटो खुला गर्नुहोला भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले सुरुमा प्रदेश प्रमुखलाई मौखिक जानकारी मात्र दिन लागेका हौं ।’

आइतबारसम्म पनि राजीनामा नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्तावमार्फत सरकारलाई किनारा लगाउने विपक्षी गठबन्धनको तयारी छ  । कान्तिपुर दैनिकबाट


प्रतिक्रिया दिनुहोस