ताजा समाचार

पूर्वयुवराज पारश शाहद्वारा महाराजगञ्जमा प्रहरीमाथि दु‘र्व्यवहार, यस्तोसम्मको लफडा ?

नेप्लिज संवाददाता १६ श्रावण २०७८, शनिबार ०५:५८ (1 महिना अघि)    १६८ जनाले पढ़िसके

काठमाडौं । पूर्वयुवराज पारश शाहले काठमाडौंको महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ड्यूटीमा खटिएका प्रहरीमाथि दु‘र्व्यवहार गरेका छन् ।

शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दु‘र्व्यवहार गरेका हुन् । हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा विवाद भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’

पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठाइएको एसएसपी सिंहले बताए । पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहने व्यक्ति हुन् ।

२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो ।

तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए । २०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।

दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो । कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रविण गुरुङको ज्यान गएको थियो ।

पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै रहेको छ । उनको चर्को आलोचना हुँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस