ताजा समाचार

गोप्य रुपमा एमसीसी सम्झौता भइसकेको भीम रावलको खुलाशा ! (भिडियोसहित)

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार १८:४० (2 महिना अघि)    १८१ जनाले पढ़िसके

काठमाडौं ।

नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भइसकेको दावी गरेका छन् ।

तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको भन्दै उनले त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्न आग्रह गरे । उनले प्रतिनिधि सभामा प्रस्तुत भएको सम्झौतासँगै अरु थुप्रै गोप्य सम्झौताहरु भएकोसमेत बताए ।

आफूले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा बनेको कार्यदलमा रहँदा धेरैजसो सम्झौताहरु पढ्ने अवसर पाएको भन्दै उनले तर केही सम्झौताहरु अझै प्राप्त हुन नसकेके बताए ।

जब प्रतिनिधि सभामा त्यो सम्झौता अनुमोदन भएको छैन भने त्यसको कार्यान्वयन सम्झौता कसरी हुन्छ ? भनेर प्रश्न गर्दै उनले सम्झौता अनुमोदन नभई नुवाकोटका जग्गाहरू अधिग्रहण भएकोमा आपत्ति जनाए ।

एउटा पाँच तारे होटलमा त्यसको कार्यालय खोलेर नेपाली जनताको राजस्वबाट रेडियो र टेलिभिजनमा त्यो अनुदानको प्रशंसाको गीत गाउने कुरा भएको भन्दै उनले आपत्ति जनाए ।

उनले सबैभन्दा पहिला एमसिसीको बारेमा संसदले निर्णय गर्नुपर्ने भन्दै त्यसपछि मात्रै अरु सम्झौताहरु हुनुपर्ने र कार्यालयहरु खोल्नुपर्ने बताए ।

उनले केही समयअघि ५ पूर्व प्रधानमन्त्रीको बैदेशिक हस्तक्षेपविरुद्ध संयुक्त वक्तब्य आएको भन्दै त्यो वक्तव्यले एमसिसीलाई पनि संकेत गरेको हुनुपर्ने बताए ।

एमसिसीमा भएका कतिपय कुरा नेपालको संविधान र कानुनसँग बाझिने उल्लेख गर्दै कुनैपनि देशसँगको कुटनीतिक सम्बन्धले नेपालीलाई सामरिक लडाईँमा घिसार्न नहुने बताए ।

उनले अमेरिकी अधिकारीहरुले वक्तब्य दिँदा एमसिसी हिन्द प्रशान्त रणनीतिक क्षेत्रको एउटा अंग भएको बताउने गरेको उल्लेख गर्र्दै नेपालमा बस्नेले भने त्यस्तो हैन भन्दै ब्याख्या गर्ने गरेको बताए ।

उनले अमेरिकी मन्त्रीको सट्टा नेपाली एमसिसीको बारेमा व्याख्याता हुन नसक्ने दावी गरे । उनले एमसिसी सम्बन्धी सम्पूर्ण कागजातहरु प्रतिनिधि सभामा पेश नगरिएको दावी गदै एउटा मात्र सम्झौता पेश गरिएको बताए ।

तत्कालीन मन्त्रीबाट कार्यान्वयन सम्झौता गरिएको र त्यसको प्रतिलिपि पेश गर्न आग्रह गर्दै उनले प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यसको अध्ययन गर्न पाउनुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस