ताजा समाचार

जब भीम रावलले एमसीसीबारे संसद बैठकमै यसो भने‍‍‍…

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार १५:५३ (2 महिना अघि)    १८७ जनाले पढ़िसके

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा बैठकमा एमसीसीबारे आफ्नो धारणा राखेका छन् । रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गरे ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको बताए ।

उनले त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिए ।

एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत रहेकाले त्यसलाई संशोधन नगरि अघि बढाउन नमिल्ने उनले बताए ।

एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेस गर्नुपर्ने भन्दै उनले नागरिकले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनुपर्ने बताए ।

प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार रहेको भन्दै उनले त्यहाँ भएका नेपालको हित, स्वाधीनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधान परिवर्तन नभइ त्यो सम्झौता गरियो भने राष्ट्रघात हुने बताए ।

नेपाली नागरिकले विगतमा पनि असमान सन्धिका कारण बेहोर्नुपरेको पीडाको फेरप पुनरावृत हुने भन्दै उनले त्यसमा रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताए ।

विकासका नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पिन नसकिने अडान दोहोर्‍याउदै उनले नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीतिअनुसार हुनुपर्ने बताए ।

यो सम्झौतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको उनले पटक–पटक दोहोर्‍याए ।


प्रतिक्रिया दिनुहोस