ताजा समाचार

नेवार समुदायको आराध्य देव नाट्यश्वर (नास द्यः)

राजेन्द्र नेवा १५ श्रावण २०७८, शुक्रबार ०७:३२ (2 महिना अघि)    २८४ जनाले पढ़िसके

काठमाडौं । कला र संस्कृतीका धनी काठमाण्डौंका नेवार समुदायको परम आराध्य देवको रुपमा नाट्यश्वर अर्थात नास द्यः लाई लिइन्छ । आजभन्दा केही दशकअघिसम्म मनोरन्जनका साधनहरु नहुँदा उपत्यकाको डबलीहरुमा गायन बाधन तथा अभिनयको प्रतिस्पर्धा हुन्थ्यो । आजको जस्तो गायन नृत्य बाध्यबाधन तथा अभिनयको ब्यवसायीकरण तथा सरलता थिएन ।

समाजमा गायन, बाधन, नृत्य तथा अभिनय सिक्न चाहने व्यक्तिहरु मिलेर सम्बन्धित विधाका पारंगत व्यक्तिको घरमा गएर वा यस्ता व्यक्तिलाई आफ्नो समाजमा नै झिकाई कला सिक्ने र सिकाउने काम गर्दथे ।

गायन, वाधन, नृत्य तथा अभिनय सिक्न चाहने व्यक्तिहरुले घरबाट एक माना चामल र एउटा सिँगो सुपारी लगेर गुरु थापना गर्दथ्यो । जसलाई नेवारीमा ‘किस्ली’ भनिन्छ ।

यसरी प्रशिक्षार्थीबाट प्राप्त किस्लीलाई गुरुले सिक्ने सिकाउने क्रममा कुनै अवरोध नआओस् आपूmमा रहेको ज्ञान तथा कला सहज किसिमले शिक्षार्थीमा हस्तान्तरण गर्न सकुँ भनेर कलाका देबता नाट्येश्वरमा अर्पण गर्दछन् ।

यसरी नाट्येश्वरको स्थापनासँगै गुरुले आफनो रोहबहरमा सम्पुर्ण शिष्यलाई श्री नाट्येश्वर भगवान्लाई गुरुको रुपमा मानेर गुरु शिष्य परम्परालाई मर्यादित बनाउने तथा बिधिवत रुपले श्री नाट्येश्वरको पुजा नगरेसम्म आफूले सिकेको कला कतै पनि प्रदर्शन नगर्ने तथा अरुलाई नसिकाउने प्रतिज्ञा गराउँदछन् ।

यदि कसैले यस प्रतिज्ञाको उल्लंघन गरेको खण्डमा नाट्येश्वर भगवान् क्रोधित भई उसको या त मूत्यु हुन्छ या त पागल हुन्छ भन्ने मान्यता नेवारी समुदायमा पाईन्छ ।

आफूले सिकाएको कलामा शिष्य निपुर्ण भए पछि सिक्ने सिकाउने व्रmममा जान–अनजानमा भएको गल्ती कमजोरिको निम्ती नाट्येश्वर भगवानको क्षमा पुजा गरिन्छ ।

यसरी क्षमा पुजा गर्नको लागि बलि दिन आफ्ना शिष्यलाई हाँस, कुखुरा, बोका तथा राँगो जे पाए पनि चोरेर ल्याउने अनुमती दिन्छ । चोरी गरेर बली दिँदा नाट्येश्वर भगवान प्रशन्न भइ सम्वन्धित कलामा चाँडोे सिद्धि प्राप्त हुने विश्वासले शिष्यहरु पशुपंक्षी चोर्न जान्छन् ।

गुरुबाट प्राप्त अक्षताले हानेपछि जस्तोसुकै पशुपंक्षी पनि सजिलै आफ्नो बसमा आई सजिलै बली दिने स्थानसम्म पुराएको कुरा आज पनि काठमाण्डौका बुढा नेवारहरु रमाईलो पाराले बताउँदछन् ।

चोरी गरी पुजा स्थलसम्म लगेको पशुपक्षीलाई फर्काउन नहुने मान्यताले गर्दा यदाकदा जननी पशुपक्षीहरु पनि बलीमा चढाउछन् । यसरी चोरी गरि बली दिएको पशुपक्षीको अंग प्रशिक्षार्थीहरुका दक्षता अनुसार प्रसादको रुपमा वितरण गर्दछन् ।

प्रशिक्षार्थीहरुको प्रतिस्पर्धामा प्रथम हुनेलाई टाउको दोस्रो हुनेलाई दाहिने पखेटा तेस्रो हुनेलाई बायाँ पखेटा एवम् रितले वितरण गर्दछन । शिक्षार्थीहरुले नाट्येश्वरको पुजाको निम्ती पशुपंक्षी चोरेर लगेमा कुनै कानुनी दोष नलाग्ने मान्यता प्रचलित थियो । अर्थात पशुपन्क्षीहरु हराउने ब्यक्तीले यसलाई धार्मिक कार्य मानी सहज रुपमा ग्रहण गर्दथे ।

वास्तविक नाट्यश्वर मन्दिर कपिलाश पर्वतसम्म पुग्न भौगोलिक कठिनाईले गर्दा उपत्यकाको बिभिन्न सुगम ठाउँहरुमा यस्ता प्रशिक्षार्थी नेवारले नाट्यश्वरको थपना गरेको पाइन्छ ।

काठमाडौंको टोखा, स्वयम्भु नाथ तथा भक्तपूरमा थपना गरेको नाट्श्वर मन्दिर पाउँदछौ । भगवान् नाट्यश्वरको प्राचिन तथा वास्तविक थलो किम्बदन्ती अनुसार काठमाडौंदेखि करिब ५० किलोमिटर उत्तर–पश्चिममा रहेको कपिलास पर्वतमा पाईन्छ ।

समुन्द्री सतह भन्दा ४,५०० मिटरको उचाईमा रहेको यो पर्वतमा जान काठमाडौंको टोखादेखि छहरेसम्मको ३० किलोमिटर रमणीय सुगम बाटो छ भने छहरेबाट करिब १२ किलोमिटर बाटो कच्ची भएको हुदाँ बर्षायाममा यात्रा गर्न ज्यादै कठिन देखिन्छ ।

छहरेबाट मोटरबाटो करिब आधा घण्टा तथा पैदल करिब ३ घन्टाको ठाडो उकालो चढेपछि कपिलेश्वर फेदी चौतारो भेटिन्छ । यस चौतारा पछिको करीव एक घण्टा पैदल भीरको बाटो हुँदै यस मन्दिरसम्म पुग्न सकिन्छ ।

अधिकांस यात्रुहरु बाटोमा राखिएको सूचनाको अध्ययन नगरी यात्रा गर्दा पहिले कपिलेश्वर महादेवको दर्शन गर्न पुग्दछन् । यसरी दर्शन गर्दा सम्पूर्ण दर्शन देब्रे तर्फ पर्दछ ।

देब्रेबाट तीर्थको भ्रमण गर्दा पून्य प्राप्त नहुने मान्यता रहेको पाइन्छ । यसर्थ पैदल यात्रा शुरु गर्दा कपिलेश्वर फेदी चौतारो बाट करिब ५० मिटर अगाडी पुगेपछि कपिलेश्वर फेदी धर्मशालाबाट ठाडो उकालो नचढि देब्रे तर्फको बाटो जानु पर्दछ ।

करिब ५० मिटर समथल गोरेटो बाटो पार गरेपछि भीरको बाटो शुरु हुन्छ । यसै भीरको बाटो हिड्ने क्रममा सर्वप्रथम प्रथम रक्षा विनायक त्यसपछि पाताल देवी, सिद्धिविनायक, महालक्ष्मीको दर्शन तथा पुजा गरेर करिब आधा घण्टा उकालो चढे छि पुगिन्छ नाट्यश्वर मन्दीर ।

कपिलाश पर्वतको भीरमा रहेको यस पवित्र स्थानमा नाट्यश्वरको कुनै मूर्ति नभई भिरको एउटा ठूलो शिलामा रहेको तिनवटा तिन कुने प्वाललाई नै पुजा गर्दछन् ।
यसरी नाट्यश्वर भगवानको मूर्ति नभई तिनवटा प्वाल रहेको शिलामा पुजा गर्नुको अर्थ तिन प्वालको अर्थ गायन बाधन तथा नृत्यको स्बरुप मान्दै आएको पाइन्छ । यस भन्दा माथि गए हामी कपिलेश्वर महादेव स्थान पुगिन्छ ।

कपिलाश पर्वतको टुप्पोमा रहेको समथल भागमा रहेको यो महादेब मन्दीरको थपना कपिल ऋषिद्धारा गरेको शिलापत्रबाट थाहा हुन्छ । केहि समय अघिसम्म यहाँ सानो तर सुन्दर पगौडा शैलिको मन्दिर तथा पार्टी रहे पनि २०७२ बैशाष १२ गतेको भुकम्पमा परि ध्वस्त भएको थियो ।

पौराणिक किम्वदन्ती

परापूर्व कालमा नाट्यश्वर भगवान् मानव रुप लिई भक्तपुरवासीलाई संगीत नाच सिकाइरहेको रहेको थियो । शिष्यहरुलाई आफनो गुरु साक्षात नाट्येश्वर भएको कुराको कुनै जानकारी नै थिएन ।

यसर्थ सामान्य मानिस मानेर एकदिन शिष्यहरुले आफना गुरुप्रति ज्यादै अभद्र व्यवहार गरेछन् । शिष्यहरुको अभद्र व्यवहार देखेर रिसाएर मानिसहरु सहज रुपले पुग्न नसक्ने कपिलाश पर्र्वतको भीरमा गएर बस्नुभएछ ।

आफ्ना गुरु धेरै दिन देखि नभेटेपछि भक्तपुरका शिष्यहरुले तान्त्रीकलाई हेराउन पुगेछन । तान्त्रीकले तिमीहरुको गुरु सधै तिमीहरुले पुजा आराधाना गर्ने गरेको साक्षात नाट्येश्वर (नासद्यः) रहेको र शिष्यहरुको अभद्र व्यवहारले गर्दा रुष्ट भै कपिलाश पर्वतको भीरमा गएर बसेको बताए ।

त्यहि स्थानमा गएर नाट्येश्वर भगवानको क्षमा पुजा गरी प्रशन्न पर्न सकेको खण्डमा मात्र सिद्धी प्राप्त हुने जनाएछन । त्यस समयदेखि भक्तपुरलगायत काठमाण्डौका नेवारहरुले नृत्य गायन तथा बाधनसम्बन्धी सिद्धी प्राप्त गर्न र आफ्नो कला अन्य स्थानमा प्रस्तुत गर्नु पहिले यस ठाउँमा गएर पुजा गर्ने प्रचलन भएको जनविश्वास रहि आएको पाइन्छ ।

भगवान् नाट्येश्वर मानवरुपमा यस कपिलाश पर्वतमा बस्दा त्यहिँको स्थानीय महिलासँग प्रेम हुन पुगेछ । आफ्नो प्रेमलाई मुर्त रुप दिन नाट्यश्वरले उक्त महिलालाई बिधिवत रुपमा बिबाह गरेर घरजम गरि बसेछ ।

केहि समयपछि भगवान् र मानिसको पे्रमको निशानी एक सुन्दर बालकको जन्म हुन पुग्यो । यस पृथ्वीमा ख्याक तथा कंकालको अस्तित्वको श्रृजना हुनको निम्ती उक्त बालकको मृत्यू हुन जरुरी थियो ।

यस कारण नाट्येश्वर भगवानु् र उक्त महिलाबीच बालकको बिषयमा झगडा भएछ । नाट्येश्वरले भने छन यो बालकको जन्म मेरो बिर्यबाट भएको हो त्यसैले यसमाथि मेरो पुरा अधिकार छ ।

त्यसैगरी आमाले भनिछन्– ‘हैन यो बच्चा मेरो रजबाट जन्मेको हो त्यसैले यसमाथी मेरो अधिकार हुनुपर्छ ।’ विवाद बढ्दै गएपछि दुबै जना बच्चालाई आधा–आधा बाँढेर लिने कुरामा सहमती भएछन् । यसरी बच्चालाई भाग लगाउने सहमती अनुसार बाबुको बिर्यबाट सृजना भएको हड्डीमा बुवाको र आमाको रजबाट सृजना भएको मासुमा आमाको अधिकार रहने गरि भागबन्डा गरेछन् ।

कालान्तरमा वावुको भागको हड्डीबाट कंकाल र आमाको भागमा रहेको मासुबाट ख्याकको उत्पत्ती भयो । यसरी आफ्नो झगडाबाट पृथ्वीमा विचित्रको प्राणीको उत्पती भएको कुराले नाट्यश्वर ज्यादै चिन्तित भई यहि कपिलाश पर्वतको सुनसान ठाउँमा एउटा रुखको ठुटामा आशन लगाई ध्यान मग्न भएछन् । धेरै समयसम्म ध्यानमा बस्दा उक्त ठुटालाई भित्रभित्रै धमिराले खोक्रो पारेछन् ।

एक दिन नाट्यश्वरको औँलाहरु ध्यानमा रहँदै अनाय किसिमले उक्त काठको ठुटाकोमा चल्न थालेछन । औँलाहरु चलाउँदा उक्त ठुटाबाट मिठो आवाज निस्कन गई कंकाल र ख्याक नाच्न थालेछन । यस्तो आश्चर्य घटनापछि उक्त भित्र खोक्रो रहेको काठको ठुटालाई धिमे बाजाको सृजना गर्नुभयो ।

काठमाण्डौको नेवार समुदायमा प्रचलित किम्वदंति नुसार भगवान् शिवलाई राग सिक्न मन भई नाट्यश्वरसँग प्रार्थना गर्नुभएछ । नाट्येश्वर भगवान्ले संगीत तथा राग सिक्न र सिकाउन शान्त स्थान आवश्यक भएको बताएपछि यी दुवैजना शान्त स्थानको खोजिमा पृथ्वी तटमा घुम्न थालेछन । यसरी सम्पुर्ण पृथ्वीको परिव्रmमा गर्दा कपिलेश्वर पर्वतको टुप्पामा अवस्थित मैदानलाई नै उपयुक्त स्थल महशुस भएछन् ।

यस स्थानमा भगवान् नाट्यश्वरले भगवान् शवलाई राग सिकाउन थाल्नु भएछ । यसै समयमा यस पहाडको फेदीमा एक किसानको भेडा हराएको रहेछ । उक्त किसान आफ्नो भेडाको खोजीमा उक्त जगंलमा भौतारिएको रहेछ ।

जंगलको टुप्पोबाट आएको आवाजतर्फ जाँदा उक्त स्थानमा दुईजना मानवलाई देखि सोधे छ – ‘यहाँहरुले यता मेरो भेडा देख्नु भयो ?’ मानव रुपधारी भगवानु शिव र नाट्येश्वरले जगंलमा आफुले कुनै भेडा नदेखेको बताएछन् ।

उक्त किसान गएको केहि समयपछि फेरि नाट्यश्वरले सिकाए अनुसार भगवान् शिवले राग गाउन सुरु गर्नुभएछ । उक्त किसान आएर सोधेछन्, – ‘है न मेरो भेडाको अवाज यतै बाट आएको छ । म गरिब किसानमाथि दया गरि मलाई मेरो भेडा कहाँ लुकाएर राख्नु भएको छ बताई दिनुस ।’

फेरि पनि मानव रुपधारी भगवानले भन्नुभयो – ‘यहाँ कुनै पनि भेडा आएको छैन र मैले देखेको छैन ।’

धेरै समय सम्झाएपछि किसाना आफ्नो बाटो लागेछन् । किसान गएको केहि समयपछि फेरि भगवान् शिवले नाट्यश्वर भगवानले सिकाए अनुसार गाउन सुरु गर्नुभएछ । फेरी त्यस किसान आएर आफूले त्यस ठाउँबाट स्पष्ट रुपमा आफनो भेंडाको आबाज सुनेको दादी गरेर मानव रुपधारी भगवानलाई चोर दोष लगाएर झगडा गर्न थालेछन् ।

अब नाट्येश्वरले आफुलाई भेडाको जस्तो श्वर निकाल्न लगाई आफनो व्यवस्ता र ईच्छाको उपहास गरेको महशुस गरेर भगवान शिव क्रोधत भएर नाट्यश्वरलाइ उक्त मैदानी स्थानबाट दक्षिणतर्फको भीरमा मिल्काउनुभएछ ।

यसरी भीरबाट खसरेर जुन चटानमा नाट्यश्वरको टाउको ठोकियो त्यस ठाउँको चटानमा खोपिल्टो पर्न गई त्यहिँबाट अन्र्तध्यान हुनुभएछ । उहाँ उन्तर्यध्यान भएको चटानलाई नै हाल सम्म नाट्यश्वरको प्रतिक मानि पुजा गरेको कथन पनि सुन्न पाईन्छ ।

उक्त स्थानको अबलोकन गर्दा कपिलाश पर्वतको टुप्पोमा रहेको मैदानी भाग नाट्येश्वरको पुजा भीरमा रहेको चटानमा हुनुले यस कथनमा सत्यता रहेको पनि पाईन्छ ।

नाट्येश्वरलाई बली दिएर पुजा गर्ने सम्बन्धमा पनि एक किम्वदन्ती प्रचलित पाईन्छ । नाट्येश्वरको पुजा गरि सिद्धि प्राप्त गर्ने उदेश्य लिई एकजना ज्यापुँ उक्त कपिलाश पर्वतमा पुगेछ ।

घना जंगल भएको कारणले उक्त ज्यापुँको मनमा डर उत्पन्न भएछ । केहि समय बिधिवत पुजा गर्दा पनि उक्त स्थानमा न त नाट्येश्वर भगवान् आउनुभयो न त कंकाल वा ख्याक नै आए । जती जती समय बित्दै गयो ज्यापुको मनमा त्यती त्यती नै डर बढ्दै गयो ।

त्यस ज्याँपुले ख्याक र कंकाल लाई बोलाउदै समयबजी जाँड रक्सी खाने भए नाच्दै नाच्दै आउ भन्दै आफूसँग भएको समयबजी आफनो चारै तिर छर्न थालेछ ।

यसरी समयबजी छर्ने क्रममा त्यहाँ एउटा भेंडा आएछ । त्यसपछि मात्र ख्याक र कंकाल ला ख्वाः हि ख्वाः (रगत पिउने मासु खाने) भन्दै नाच्दै गाउँदै आएछ ।

यिनीहरुले नै भेडाको श्रृजना गरि आफुले हत्या नगरि मलाई हत्या गर्न लगाई आफु तृप्त हुन खोजेको हो, नत्र यस्तो घना जगंलमा भेडा कसरि आयो भनि आफुले उक्त भेडाको घाँटी रेटेर रगत नाट्येश्वरको लाज (एक किसिमाको कपडा) मा पर्ने गरि बलि दिएछन् ।

तत् पश्चात नाट्येश्वर प्रशन्न भई नाच्न आई सिद्धि प्रदान गरेको किम्वदन्ती सुनिन्छ । त्यस बेलादेखी नाट्येश्वरलाइ बली दिने र बली दिँदा रगत नाट्येश्वरको लाजमा पर्ने गरि दिने कामको सुरुवात भएको मान्यता छ ।

नाट्येश्वरको कुनै पनि मन्दीरमा हामी मूर्ति पाउन सक्दैनौँ । मन्दीरको भित्तामा तिन कुने तिन वटा प्वालमात्र देख्दछौ । मन्दीरको अगाडी नृत्यनाथ लेखिएको लाज भनिने बिशेष सेतो किसिमको कपडा राखिएको हुन्छ ।

यस्त नाट्श्वरको तोरणमा भने नाट्येश्वर नाचिरहेको चित्र अंकित पाइन्छ । नाट्यश्वरको मूर्तीको सट्टा तिनवटा तिन कुने प्वालको बारेमा मत भेद पाउँदछौ ।
कसै कसैले नाट्येश्वर भगवान् नृत्य, गायन तथा बाधनको सिद्धी दाता भएको हुँदा यसको प्रतिनिधिको रुपमा तिनवटा प्वाल रहेको बताउँदछन् ।

त्यस्तै भगवान् शिव नैै नृत्य नाथ, नाट्येश्वर र भैरबनाथ भएको हँुदा यि तिन देबको प्रतिनिधिस्वरुप तिन वटाा प्वाल बनाएका हुन भन्छन ।
बौदमत अनुसार नृत्यनाथ लोकेश्वर र पध्म नृत्य लोकेश्वरलाई नाट्येश्वरको रुपमा पुजा गर्दछन् ।

भक्तपुरको तौमढीमा स्थापना गरेको भैरबनाथलाई भैलः नास द्यः को रुपमा मान्दै आएका छन् भने, कतै कतै भद्रकाली, माहालक्ष्मी तथा पार्वतीलाई पनि नाट्येश्वरको रुपमा मान्दै आएको पाईन्छ ।

यसर्थ नाट्येश्वरलाई देब र देबी दुबै किसिमबाट पुज्न सकिन्छ । सायद यसै भएर होला कसै कसैले नाट्येश्वरी भन्दछन भने कसै कसैले नाट्येश्वर भन्दछन । नेवारी भाषमा ‘नासःद्यः’ भनिन्छ जसले स्त्री वा पुरुषमा भेद नराखी केवल भगवान् मात्र जनाउँछ ।


प्रतिक्रिया दिनुहोस