ताजा समाचार

परमादेशकै कारण सुविधा खाइरहेका सांसदले परमादेशकै विरोध गर्ने ? (हेर्नुहोस् भिडियोसहित)

नेप्लिज संवाददाता १३ श्रावण २०७८, बुधबार १९:०१ (2 महिना अघि)    २२० जनाले पढ़िसके

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए ।

‘उनले भने – परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका विरुद्ध यत्रा कुरा ?

नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरे ।

‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको भन्दै उनले राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ? भनेर प्रश्न गरे । सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको भन्दै उनले प्रमाण हेर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार गरेको हेक्का राख्न सांसदहरुलाई आग्रह गर्दै नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको स्मरण गराए ।

परमादेशबाट बनेको दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गर्दै उनले परमादेशबाटै ब्युँतिएको दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको बताए ।

सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र विद्रोहीले विद्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीले टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस