ताजा समाचार


नेतालाई घरमै खोप, लक्षित समूहले पाएनन्

नेप्लिज संवाददाता ७ श्रावण २०७८, बिहीबार ०६:२८ (1 हप्ता अघि)    ८८ जनाले पढ़िसके

काठमाडौं । एमालेको प्रदेश १ सचिव विनोद ढकालले विराटनगरस्थित घरमै स्वास्थ्यकर्मीलाई बोलाएर कोभिसिल्ड खोप लगाए। सर्वसाधारण र लक्षित समूह खोपका लागि तड्पिरहँदा यो विषय सार्वजनिक भएपछि नेता ढकाल आलोचनाका पात्र बने। ढकालले भने आफू एक महिनादेखि काठमाडौंमा रहेको भन्दै खोप घरमा लगेर नलगाएको दाबी गरे।

पहुँचका भरमा घरमै खोप लगाउने नेताको सूचीमा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलसहित रामलाल साह, गिरेन्द्र कार्कीलगायत धेरै छन्। ढकाल, पोख्रेल, साह र कार्कीजस्ता धेरै नेताले खोपका लागि सर्वसाधारणले जसरी घण्टौं लाममा बस्नुपरेन।

खोप पाइँदैन कि भन्ने चिन्ता नेता र उनीहरूका निकटस्थले लिनै परेन। बरु सहज रूपमा घरमै खोप सेवा उपलब्ध गराइयो। कांग्रेसको प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना परिवारका सदस्य र कार्यकर्तालाई लगाउन भन्दै सामाजिक विकास मन्त्रालयबाट चार भायल खोप लिएर गए।

मन्त्रालय स्रोतका अनुसार सरकारबाट खोपको दुरुपयोग भयो भनेर चर्को विरोध गर्दै हिँड्ने कार्की आफंै खोप लिन आएपछि सबै अचम्ममा परे। कार्कीले भने यो कुरा अस्वीकार गरेका छन्।

विराटनगरका उद्योगी, व्यवसायी एवं पहुँचवालालाई घरमै खोपको व्यवस्था मिलाइदिएको आरोप विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई लागेको छ। महामारी उत्कर्षमा पुगेर बिरामीले सहज उपचार पाउन नसक्दा र अक्सिजनको हाहाकार हुँदा पहुँचवालाका घरघरमा अक्सिजन सिलिन्डर लिएर पराजुली पुग्थे। तर, आर्थिक अवस्था कमजोर भएका स्थानीयले समस्यामा परेर बारम्बार फोन गर्दा वास्ता नगर्ने गरेको विराटनगर–४ का उत्तम दाहाल बताउँछन्।

माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले मन्त्रालयका तत्कालीन सचिव गोविन्दबहादुर कार्कीको क्वार्टरमै खोप लगाउन पाए। मोदीले कुनै खोप केन्द्रमा पुगेर उभिनु र पालो पर्खिनुपर्ने झन्झट व्यहोर्नुपरेन।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले मापदण्ड मिचेर विराटनगरस्थित सिटी सिनेमा हलमा नेता, कार्यकर्ता, उद्योगी र व्यवसायीसमेत निश्चित व्यक्तिलाई गोप्य हिसाबले खोप लगाउने व्यवस्था मिलाइदिए।

करिब ३ सय जनालाई दोस्रो डोज खोप दिने तयारी भइरहँदा कुरा बाहिरिएपछि स्थानीयवासी विरोधमा उत्रिए। खोप बोक्न प्रयोग गरिएको बा.१झ ९३६५ नम्बरको गाडी, खोप लगाइदिन पुगेका स्वास्थ्यकर्मी र कर्मचारी तथा लगाइमाग्न गएका पहुँचवालालाई सुरक्षा दिन प्रहरीलाई हम्म पर्‍यो।

प्रदेशमा खोपको दुरुपयोग गर्नेमा बस्नेत र सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख सल्लाहकार तुलसी पोखरेलको नाम अग्रपंक्तिमा छ। त्यस्तै, मुख्यमन्त्री राईको सचिवालयमा रहेकाहरूमाथि पनि विभिन्न दबाब दिएर खोप लग्ने र दुरुपयोग गर्ने गरेको आरोप छ। सचिवालयको समूह अहिले पनि खोप माग्दै मन्त्रालयमा दैनिक पुग्ने गरेको एक कर्मचारी बताउँछन्।

दलका नेता कार्यकर्ता तथा आफ्ना नजिककाले पहुँचका भरमा खोपका लागि निवेदन दिनेबित्तिकै मापदण्डविपरीत तोक लगाइदिने गरेको भन्दै मन्त्री राईको आलोचना भइरहेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री राईको निर्देशनमै लक्षित समूहभन्दा बाहिरकाले सहज रूपमा खोप पाएका हुन्।

जब कि कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतले खोप पाइरहेका छैनन्। लक्षित उमेर समूहकाले पाउने त धेरै टाढाको कुरा हो।

मन्त्री राईका सल्लाहकार पोखरेल पहुँचका आधारमा खोप नदिएको दाबी गर्छन्। ‘पहिलो डोज लगाउन मान्छे नआएपछि संस्थागत सिफारिस गर्नेहरूलाई खोप दिइएको हो,’ पोखरेल भन्छन्, ‘तपाईलाई पनि चाहिएको छ भने आउनुस् लगाइदिएर पठाउने जिम्मा हाम्रो भयो।’
पोखरेल संस्थागत रूपमा दिइएकाले कसले कहाँ लगेर कसरी खोप लगाए भन्ने यकिन नभएको बताउँछन्।

उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमै लगेर पहुँचवालालाई खोप लगाउने व्यवस्था मिलाइएपछि प्रदेश १ सरकार खोपको मामिलामा आलोचित बनेको छ।

लक्षित समूहलाई आएको खोप नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्तले पहुँचका आधारमा लगाएको भन्दै केही समयअघि सुनसरीको रामधुनी नगरपालिकाका युवाले विरोध गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नगरिकलाई भनेर पठाएको भेरोसेल खोप कर्मचारीले आफन्तलाई बाँडेको भन्दै युवाले नगरपालिका घेराउ गरे।

‘३२ वर्षको उमेर भएको मानिसलाई ६२ वर्षको बनाएर जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले खोप लगाएको पाइएको छ,’ स्थानीय सुदीप अधिकारी भन्छन्, ‘मापदण्ड र तथ्यांकबिना नै हावाका भरमा खोप बाँडिएको छ।’

खोप कार्डमा खोपको नाम, लगाएको मिति, अर्को पटक लगाउनुपर्ने मिति उल्लेख छैन। पहुँचवालालाई दिन हतारो हुँदा बिहेको कार्ड जसरी बाँडिएको अधिकारी बताउँछन्। उनका अनुसार खोप लगाउनेहरूको नामावली सार्वजनिक गर्न बुधबारसम्मको अल्टिमेटम दिइएको छ। यस विषयमा बुझ्न बिहीबार फेरि नगरपालिका कार्यालय जाने उनको भनाइ छ।

नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र पौडेल ४ हजारभन्दा बढीले खोप लगाइसकेको र बीचमा धेरै भएर ७ सय भायल खोप फिर्तासमेत गएको बताउँछन्। ‘मेयर साहेबले भनेर कोही विदेश जाने वा अत्यावश्यक परेकाहरूले लगाए होलान्। तर, खोपको दुरुपयोग भएको छैन,’ उनी भन्छन्।

भोजपुर नगरपालिका–५ बोखिमका फविन्द्र प्रधान महामारीले नागरिकको बेहाल भइरहेका बेला पहुँचका भरमा आफन्त र व्यक्ति विशेषलाई खोप दिइएको बताउँछन्। ‘संक्रमणका बेला बिरामीका लागि अक्सिजन, भेन्टिलेटर र एम्बुलेन्स पाइँदैन’, प्रधान भन्छन्, ‘अर्कोतिर सरकारी अभियानको खोप पनि लक्षित समुदायसम्म पुग्न सकेको छैन।’

पहुँचका भरमा खोप अभियान चलाउने गलत परिपाटीको विकास भएको स्थानीय युवा अगुवा नवीन प्रधानको भनाइ छ। ‘हुनेखाने, चिनेजाने र नेता तथा मन्त्रीसँग नजिक भएकाले खोप पाए। लक्षित वर्ष अहिले पनि खोप नपाएर तड्पिरहेको छ,’ उनी भन्छन्, ‘संक्रमण जोखिम क्षेत्रका नागरिकले अहिले पनि खोप पाएका छैनन्। महामारीग्रस्त क्षेत्रलाई खोपको प्राथमिकतमा राख्न सबै पक्षले दबाब दिनुपर्ने बेला भएको छ।’

कोरोना महामारी समुदायस्तरमा र दुरदराजका गाउँसम्म फैलिएको छ। तर, सरकारले सुरु गरेको खोप अभियान भने लक्षित समूहबाहेक सीमित क्षेत्रमा केन्द्रित गरिएको जनगुनासो बढेको छ। प्रदेश १ भरी नै पहुँचका भरमा खोपको असमान वितरण भइरहेको छ।
प्रदेश १ मा हालसम्म कोभिसिल्ड ४ लाख ५९ हजार र भेरोसेल १ लाख ४२ हजार डोज आइसकेको छ।

प्रदेश १ सरकारको तथ्यांकबाट हालसम्म ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्डको पहिलो र ५२ हजार ८ सय ५५ जनाले दोस्रो डोजसमेत लिएको देखिन्छ। भेरोसेलको पहिलो डोज ७० हजार २ सय ६३ र दोस्रो डोज ४६ हजार ८ सय २२ जनाले लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन्।

उनका अनुसार हालसम्म खोपको दुवै डोज भने ९९ हजार ६ सय ७७ जनाले मात्रै लिएका छन्। ‘दुईवटै खोप दुवै डोज लगाउनुपर्ने हुन्छ,’ बस्नेत भन्छन्, ‘पहिलो डोज लगाउनेको तुलनामा दोस्रो डोज लगाउनेको संख्या निक्कै कम छ।’ अन्नपूर्णपोष्ट दैनिकबाट


प्रतिक्रिया दिनुहोस