ताजा समाचार


एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमती पदीय मर्यादा भूलेर ओलम्पिकमा म्यानेजर किन भइन् ?

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १९:२४ (1 हप्ता अघि)    ११३ जनाले पढ़िसके

काठमाडौं । वामदेव गौतमकी श्रीमती तुलासा थापा टोकियो ओलम्पिकमा म्यानेजर बनेर गएको विषय अहिले चर्चामा छ । वामदेवकी श्रीमती टोकियो ओलम्पिकमा जानै नहुने, म्यानेजर बन्नै नपाउने भने हैन ।

तुलसा टोकियो नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव हुन् । उनी नेपाल कबड्डी संघको अध्यक्षको हैसियतमा एनओसी पुगेकी हुन् । तर सांसद समेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा पदीय मर्यादा भूलेर जुडोको म्यानेजर बनेर ओलम्पिक पुगेकी छिन् । जुडोको अफिसियल (म्यानेजर)को रुपमा तुलसालाई एनओसीले जापान लगेको हो ।

ओलम्पिकमा आबद्ध राष्ट्रिय संघको अध्यक्ष अर्को संघको म्यानेजर बनेर ओलम्पिक पुग्ने तुलसा एक्ली पात्र भने हैनन् । ओलम्पिकमा आबद्ध नेपालको राष्ट्रिय संघका ५ अध्यक्ष नै अर्को खेलको म्यानेजर बनेर टोकियो पुगेका छन् ।

नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडो खेलको म्यानेजर बनेर ओलम्पिक पुगेका छन् । तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा सुटिङ खेलको म्यानेजर बनेर जापान उडेका छन् । बक्सिङ संघका अध्यक्ष राम अवाले स्विमिङ खेलको म्यानेजर बनेर जापान उडेका छन् भने एनओसी उप–महासचिव पिताम्बर तिम्सिना एथलेटिक्स खेलको म्यानेजर बनेर जापान जादैछन् ।

तिम्सिना एथलेटिक्सबाट प्रतिनिधि बनेर ओलम्पिक पुगेका हुन् । तर एथलेटिक्समा तिम्सिनाको काम र प्रभाव शुन्य छ । एथलेटिक्सको प्रतिनिधि भएपनि आवश्यक समन्वय नगर्दा यसपटकको ओलम्पिकमा समेत एथलेटिक्सको छनोट विवादमा पर्यो । प्रतियोगिताका लागि नाम पक्का गरेर करिब ८ महिना अभ्यास गरेको म्याराथन धावक गोपीचन्द्र पार्की अन्तिम समयमा ओलम्पिक जान पाएनन् ।

एथलेटिक्सकै अफिसियल (म्यानेजर) बनेर ओलम्पिक जाने सूचिमा रहेका राखेपका उपाध्यक्ष शिव कोईरालाले टोकियो जाने सूचिबाट नाम फिर्ता लिएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीसंग सम्बन्धित खेलका आबद्ध अफिसियल पठाउनुपर्ने भएपनि एनओसीले पदाधिकारीलाई विदेश घुमाउने मौकाको रुपमा ओलम्पिकलाई उपयोग गर्दै आएको छ ।

ओलम्पिकले सहभागी खेलाडीको व्यवस्थापनका लागि एक अफिसियल (म्यानेजर)को कोटा सम्बन्धित ओलम्पिक कमिटीलाई दिने गर्छ । तर एनओसीले आफ्ना पदाधिकारीलाई भिन्न खेलको म्यानेजर बनाएर विदेश घुमाउने गरेको छ ।

विदेश मोहकै कारण राष्ट्रिय खेल संघका अध्यक्ष म्यानेजरको हैसियतमा ओलम्पिक घुमेर फर्कने गरेका छन् । पदीय गरिमालाई भूलेर म्यानेजरको हैसियतको ओलम्पिक घुम्ने प्रचलन नेपालमा नयाँ हैन । तर यही गलत संस्कार नेपाली खेलकुदको परम्परा बनेको छ ।

राखेपका पूर्व सदस्य सचिव युवराज लामा पदीय गरिमा बिर्सिएर खेलकुदका पदाधिकारी ओलम्पिक जानुले नैतिक प्रश्न खडा गरेको बताउँछन् ।

‘सरकारी पैसामा विदेश घुम्न खेल पदाधिकारी जसरी लालायित देखिन्छन्, यो एनओसी र सम्बन्धित पदाधिकारीका लागि नैतिक प्रश्न हो । मान्छेभित्रको मान्छे मरेपछि के हुन्छ ? विगतदेखि देखिएको यहीनै हो ।’ लामा भन्छन् ।

कराँतेका पूर्व अन्तराष्ट्रिय खेलाडी समेत रहेका लामा एनओसीमा आबद्ध अन्य संघले यस विषयमा नबोल्दा बेतिथी यथावत रहेको बताए ।

‘देशमा प्रतिनिधित्व गर्ने विषयमा खेलकुदका पदाधिकारीको जवाफदेहीता र नैतिकताको प्रश्न हो । हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकता देखिन्छ । यो घोर अनौतिक र भ्रष्टाचार हो ।’ उनी भन्छन्, ‘एनओसीकै पदाधिकारीले यसको विरोध गरेको देखिदैन । बरु साथ दिने गरेको छ । निश्चित मापदण्ड बनाएर राज्य अघि नबढ्ने हो भने समस्या यथावत रहनेछ ।’

ओलम्पिकको यसअघिका संस्करणमा समेत नेपालबाट भागबण्डका आधारमा पदाधिकारी विदेश घुम्न जाने गरेका छन् ।

देशको प्रतिनिधित्व गर्दै ओलम्पिक जाने विषयमा एनओसीमा खासै छलफल हुने नगरेको एक जना पदाधिकारीले खेलपाटीलाई बताए । एनओसी नेतृत्वले आफु अनुकुलका पदाधिकारीलाई ओलम्पिक लगायतका अन्तराष्ट्रिय प्रतियोगितामा विदेश सयरको मौका दिने गरेको छ । तर एनओसीमा आबद्ध संघका पदाधिकारी नेतृत्वको गलत निर्णयमा प्राय मौन बस्ने गरेका छन् ।

‘सबैले अवसर पाउनुपर्छ । ओलम्पिक जानेले खेलाडीलाई हौसला भर्दिन पर्छ ।’ ओलम्पिकमा प्रतिनिधित्व गर्ने एक खेल संघका अध्यक्षले खेलपाटीसंग भने, ‘यो एक प्रकारले ठिकै हो । चार वर्षमा एक पटक आउने ओलम्पिक सबैले अवसर आउन पर्छ । भोलि हाम्रो पनि अवसर आउछ । ओलम्पिकले गरेको निर्णयमा कुनै आपत्ति छैन ।’

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । खेलाडी सहित करिब २३ जनाको टोली ओलम्पिक कमिटीको निर्णय अनुसार टोकियो पुग्दैछ ।

नेपाल ओलम्पिक कमिटीले राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभाष श्रेष्ठलाई एनओसी कर्मचारीको हैसियतमा जापान पुर्याएको छ । सामान्यता एनओसीका कर्मचारी जानु पर्ने कोटामा राखेपका दुई बोर्ड सदस्य जापान पुगेका छन्, कर्मचारीको हैसियतमा ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल ‘सेभ द मिसन’ रहेको नेपाली टोलीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने टिपोटकार रुपमा सम्मिलित छन् । खेलपाटी डटकमबाट ।


प्रतिक्रिया दिनुहोस