ताजा समाचार


काठमाडौंका विभिन्न ठाउँमा शक्तिवर्द्धक पेय पदार्थ बेच्दै हिड्ने गिरोह प्रहरीको फन्दामा

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १३:५६ (1 हप्ता अघि)    ७८ जनाले पढ़िसके

काठमाडौं । नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्रि वितरण गर्ने गिरोहलाई प्रहरीले समात्न सफल भएको छ । प्रहरीले नेपालमा प्रतिबन्ध गरिएको इनर्जी ड्रिङ्स ठूलो परिमाणमा बरामद गरेको छ।

क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री– वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट बरामद गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुलसहित उनीहरुलाई समातेको हो ।

कारोबारमा संलग्न चार जना व्यक्तिहरू समातिएको अपराध अनुसन्धान कार्यलयले जनाएको छ । प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका १ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी समातिएका हुन् ।

चौधरी रेडबुल ओसारपसारमा संलग्न छन्। उनलाई बा२१च १२५ नम्बरको भ्यानसहित समातिएको प्रहरी प्रवक्ता एवमु प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री– वितरणमा रोक लगाइएको छ। तर, काठमाडौंमा रहेका होलसेल सप्लायर्स ताथ मार्टहरूमा त्यस्तो रेडबुल बिक्री भइरहेको पाइएको अनुसन्धान कार्यालयले जनाएको छ।

यस्तो रेडबुलको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा अरु व्यक्तिहरुकोसमेत खोजी भइरहेको छ । समातिएका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस