ताजा समाचार


अलैँची खेती गरेर एक अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको सुन्दा पत्याउनुहुन्छ ?

नेप्लिज संवाददाता ४ श्रावण २०७८, सोमबार ११:१७ (1 हप्ता अघि)    ९१ जनाले पढ़िसके

ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँची खेती हुँदै आएको छ ।

आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैँची खेती गरिन्छ ।

जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दैआएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पर्यटकीय लेक चढ्न पदमार्ग

पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।

गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ ।

पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए । गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताउनुभयो । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताए ।

पदमार्गले घुम्टे चढ्न सजिलो र छरितो बनाएको उनको भनाइ छ । सिद्धथानका सात घरमा सामुदायिक घरबास सेवा छ । घरबाससँग घुम्टेको पर्यटन पनि जोडिएको छ । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे जिल्लाकै आकर्षक गन्तव्यस्थलमा पर्छ ।

त्यहाँ बर्सेनि वैशाखे पूर्णिमा र नयाँ वर्षका अवसरमा मेला लाग्ने गर्छ । घुम्टेको धुरीमा रहेको सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमै गुराँस उत्सव आयोजना गर्दै आएको छ । जैविक विविधताले भरिएको घुम्टेमा चैत÷वैशाखमा दर्जनौँ थरीका गुराँस फुल्छन् ।

घुम्टेको चुचुरोबाट छिमेकी जिल्लाका समेत रमणीय ठाउँको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पखको दृश्यावलोकनका लागि घुम्टे उपयुक्तस्थल हो ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्र समेटिएको घुम्टे लेक चढ्न यसअघि हरिचौर, मल्म हुँदै पनि पदमार्ग जोडिएको छ । घुम्टेलाई सडक सञ्जालसँग जोड्न अहिले मार्ग खोल्ने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस