ताजा समाचार


माफियाले २ करोडको घरजग्गा ठगेपछि विमलाको उठिबास् (भिडिओसहित)

नेप्लिज संवाददाता ३ श्रावण २०७८, आईतवार ०९:३४ (1 हप्ता अघि)    २१५ जनाले पढ़िसके

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ १० की विमला अधिकारी श्रीमानसँगको बेमेलपछि एक्लै बस्न थालेको झण्डै २ दशक बित्यो ।
४८ वर्षकी विमलाकी श्रीमानले अर्को विवाह गरे पनि उनले डिभोर्स नगरी एक्लो जीवन बिताउँदै आएकी छिन् । अहिलेसम्म सन्तानसमेत नभएकोले उनको साथमा अहिले कोही पनि छैनन् ।

श्रीमान शिवप्रसाद उपाध्याय अधिकारीले आफूखुसी जीवनयापन गर्न थालेपछि विमलाले पनि आफू बाँच्ने आधार स्वरुप केही सम्पति दिन आग्रह गरिन् ।

जेठी श्रीमती विमलाको मागबमोजिम शिवप्रसाद उपाध्याय अधिकारीले पनि काठमाडौंको साविकको कपन गा.वि.स ३ मा रहेको कित्ता नम्बर २३८ को ७७ दशमलव ६० वर्गमिटर क्षेत्रफलको जग्गा र घर विमलाको नाममा गरिदिए ।

२०७६ सालको वैशाखमा विमलाले घरजग्गा आफ्नो नाममा ल्याएकी थिइन् । तर, घरजग्गा आफ्नो नाममा आएको २ वर्ष नपुग्दै विमलाको घरजग्गा गिरोहको एक समूहले हत्याएको छ ।

विमला बस्दै आएको घरजग्गा साविकको मोरङको दवैसा गाउँपालिका घर भई हाल भक्तपुर बस्दै आएका तुलसी पनेरुको नाममा नामसारी भएको छ ।

दृष्टि बन्धकी गर्ने र मिलेर आर्थिक कारोबार गर्ने भन्दै विभिन्न प्रलोभन देखाएर गिरोहको एक समूहले विमलाको घरजग्गा हत्याउन सफल भएका हुन् ।

पनेरुको नाममा जग्गा नामसारी भएपछि अहिले विमला आफ्नै घर छाडेर अन्त कतै बस्दै आएकी छिन् । उनको अहिले उठिबास् भएको छ ।

काठमाडौंको साविकको कपन गा.वि.स. ३ मा रहेको विमला अधिकारीको घर

घरजग्गा धनीको प्रमाणपत्र र बैंकका खाली चेकहरु यसरी हत्याए

विमलाले घर अलि सुधार गरेर बस्ने चाहना गरिन् । जग्गा प्लास्टर गर्नका लागि उनीसँग आवश्यक पैसा थिएन । सहकारीमा जग्गा राखेर ऋण निकाल्ने र त्यहि पैसाले घर मर्मत गर्ने योजना विमलाको थियो । तर, सहकारीमार्फत ऋण निकाल्न मिलेन ।

त्यसपछि उनले एकजनासँग दुई लाख रुपैयाँ ऋण लिइन् । केही दिनमा हेमा गुरुङ विमला अधिकारीलाई भेट्न पु्गिन् । दोलखा घर बताउने हेमा नजिकैको अर्को घरमा जुवातास खेल्न आउने र केही समयदेखि विमलासँग चिनजान भएकी महिला हुन् ।

हेमाले आफूलाई पनि केही रकम आवश्यक परेकोले ऋण लिएको मान्छेलाई भेटाउन विमलासँग आग्रह गरिन् । विमलाले ऋण दिने व्यक्तिसँग भेट गराईन् । तर उनले हेमालाई ऋण दिन मानिनन् ।

त्यसपछि हेमाले विमलाको जग्गा धितोमा राखेर मिलेर ऋण कारोबार गर्न आग्रह गरिन् । यतिसम्म कि, हेमाले दुवैजनाको व्याज आफैंले तिर्ने आश्वासन देखाईन् ।
दायाँबायाँ अरु सबै खर्च आफैंले बेहोर्ने हेमाले बताएपछि विमला पनि हौसिइन् । हेमाले आफूले छोरीसमेत विदेश पठाउनुपर्ने भएकोले निक्कै गाह्रोे भएको र मिलेर कारोबार गर्न आग्रह गरिन् ।

सुरुमा त विमलाले घरजग्गा राखेर आफूले कुनै हालतमा कारोबार गर्न नसक्ने बताइन् । तर हेमाले विभिन्न वाहाना बनाएर विमलालाई फकाउन सफल भइन् ।

हेमा विभिन्न बैंक र सहकारीतिर गएर बुझेको जस्तो गरिन् । बैंक र सहकारीमार्फत कारोबार गर्न जग्गाधनीको नजिकको मान्छे चाहिने भएकोले नमिल्ने हेमाले बताइन् । त्यसपछि उनले व्यक्तिमा दृष्टि बन्धकी गर्ने भनेर विमलालाई फकाइन् ।

सुरुमा विमलाले व्यक्तिमा नराख्ने भनेर अडान लिइन् । तर फेरि हेमाले विभिन्न प्रलोभन देखाएर विमलालाई व्यक्तिकै नाममा दृष्टि बन्धकी राख्न तयार बनाइन् । त्यसलगत्तै हेमाले विमलाको हातबाट लालपुर्जा फुत्काएर लिएर गइन् ।

हेमाले जग्गाधनीको प्रमाणपत्र मात्रै फुत्काइनन्, वडाबाट सिफारिस लिनका लागि केही रकमसमेत मागिन् । विमलाले पैसा दिइनन् । तर, हेमाले जग्गाधनीको प्रमाणपत्र र तिरो तिरेको रसिदहरु सबै बोकेर हिडिन् ।

हेमालाई यतिले मात्रै पुगेन, उनले विमालको बैंक खाता र चेकसमेत फुत्काउन सफल भईन् । विमलाले चेकमा आफ्नो हस्ताक्षर सजिलो भएकोले जसले पनि चोर्न सक्ने भन्दै सुरुमा त दिन मानेकी थिइनन् । हेमाले ऋण दिनेले क्यास नदिने भएकोले त्यहि खातामा पैसा जम्मा गर्नका लागि भन्ने बाहाना बनाएर बैंकको खाली चेकसमेत लगिन् ।

पीडित विमला अधिकारी

हेमासँग विमलाको चिनजान कसरी भयो ?

विमला अधिकारी फस्नुको पहिलो खुड्किलो हेमा गुरुङ हुन् । दोलखा घर बताउने हेमाको वास्तविक घर कहाँ को, के पेशा गर्छिन्, काठमाडौंको कुन ठाउँमा डेरा गरेर बसेकी छिन्, यावत प्रश्नमा विमला अहिले पनि अनुत्तरित छिन् ।

आफ्नो घर नजिकैको अर्को घरमा भाडामै बस्ने एकजनाले जुवातास खेलाउने गर्थे । त्यहि घरमा जुवातास खेल्नका लागि हेमा पनि आउने गर्थिन् ।

केही मानिसहरुको जम्काभेट त्यहि घरमा हुने गथ्र्यो । रोडमा पार्किङ गरेर मोटरसाइकल, स्कुटरहरु राखिएको हुन्थ्यो । जुवातास खेल्न आउने गरेकी हेमासँग विस्तारै सम्बन्ध बढ्दै गयो ।

हेमा बेलाबेला विमलाको घरमा आउने र जाने गर्न थालिन् । २/४ हजार रुपैयाँ सरसापट चल्न थाल्यो । केही सरसापट चल्दैमा विमलाले हेमालाई आफ्नै जस्तो ठान्न थालिन् । एक्लै बस्दै आएकी विमलालाई फकाउन धेरै समय लागेन ।

विमलालाई कुनै समय आपत परेमा हेमाले केही हजार रुपैयाँ सहयोग गर्ने गर्न थालिन् । विमलाले पनि आफूसँग छ भने सरसापट दिने गर्न थालिन् । दोहोरो कारोबार चल्न थाल्यो । दोहोरो कारोबार चल्ने र एकले अर्काको दुःख बुझेको लागेर विमलाले हेमाको सबै परिचय खोतल्नेतिर ध्यान नै दिइनन् ।

जुवातास खेलेर हिड्ने हेमाले विमलालाई पनि बेलाबेलामा जुवातास खेल्न उक्साउँथिन् । तर आफूले भने अहिलेसम्म उनीहरुले भनेअनुसार जुवातास खेल्न नहिँडेको विमला बताउँछिन् ।

सामान्य चिनजानकै भरमा हेमाले घरजग्गा राखेर कारोबार गर्ने भनेर जग्गाधनीको प्रमाणपत्र फुत्काएको कुरा विमलाले नजिकैको घरको लक्ष्मी सुब्बालाईसमेत बताएकी थिइन् । लक्ष्मीलेसमेत केही फरक पर्दैन भनेर उकेरा लगाएकी विमला बताउँछिन् ।

दोलखा घर बताउने हेमा गुरुङ

हेमामार्फत सन्दीप गुरुङसँग चिनजान कसरी भयो ?

विमलाको सन्दीप गुरुङसँग हेमा गुरुङमार्फत चिनजान हुन्छ । आफ्नै दिदिजस्तो लागेको भन्दै सन्दीपले विमलालाई फकाउन थाल्छन् । १८ प्रतिशत ब्याजदरमा ऋण दिने कुरा सन्दीपले विमलालाई बताउँछन् ।

अझ १८ प्रतिशत ब्याज लिँदासमेत आफूलाई कुनै फाइदा नहुने उनी बताउँछन् । सन्दीपले विमलालाई भन्छन्, ‘तपाईलाई दिने पैसा अरु ठाउँमा लगानी गर्ने हो भने म करोडौँ रुपैयाँ बनाउँछु । तपाई त आफ्नै दिदिजस्तो लागेर कारोबार गर्न खोजेको मात्रै हो । १८ प्रतिशत ब्याजदरमा तपाईलाई ऋण दिँदा मलाई कुनै फाईदा छैन ।’

दृष्टि बन्धकी गर्ने र महिलाको नाममा रहेको जग्गा महिलाकै नाममा नामसारी गर्न सजिलो हुने भएकोले आफ्नी श्रीमतीको नाममा जग्गा नामसारी गरिने सन्दीपले बताउँछन् ।

आफ्नो म्यानपावर कम्पनीसमेत रहेको बताउने सन्दीपले श्रीमतीको ब्यूटीपार्लर रहेकोसमेत बताए । महाराजगन्जमा सन्दीपले आफ्नो घरसमेत देखाए ।

सन्दीपले हेमा गुरुङ आफ्नो बहिनी भएकोसमेत बताए । खोटाङ र दोलखाको मान्छे कसरी बहिनी पर्छ ? भनेर विमलाले शंका जनाइन् । त्यसपछि सन्दीपले गुरुङ–गुरुङमा नाता पर्ने जानकारी गराए । त्यसपछि सन्दीप र हेमा मिलेर विमलाको लालपुर्जा बोकेर हिड्न थाले ।


विमलालाई झुट बोल्न सन्दीप र हेमाले यसरी फकाए

घरजग्गा हत्याउनका लागि वडा कार्यलयमार्फत सिफारिस लिनसमेत विमला अधिकारी जान परेन । उनीहरुले नै सबै कागजात तयार पारे । सहीछाप लगाउनसमेत उनीहरु विमलाकै घरमा पुगे ।

वडा कार्यलयमा विमला अधिकारीको आफ्नै देवर पनि थिए । भाउजुको जग्गाबारे सिफारिस लिन आएपछि देवरले आफ्नो दाई अर्थात विमलाको श्रीमानलाई खबर पनि नगरेका होइन् ।

तुलसी पनेरुको नाममा नामसारी गर्नका लागि भनेर नामसमेत खुलाएर सिफारिस माग्न आएपछि देवरले विमलाको श्रीमानलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै विमलालाई श्रीमानको फोन आयो । जग्गा बेच्न लागेकोबारे सोध्दा विमलाले झुट बोलिन् । कारण थियो, हेमा र सन्दिपले पहिले नै झुट बोल्नु भनेका थिए । कसैलाई पनि यो कुरा नभन्नु भनेका थिए ।

त्यसको केही दिनमा विमलाका श्रीमान शिवप्रसाद उपाध्याय अधिकारी र दाइ मालपोत कार्यलयमा पुगे । त्यहाँ पुग्दा जग्गा सुरक्षित देखेपछि शिवप्रसाद केही हदसम्म ढुक्क भए ।

बेलाबेला विमलाले हेमा र सन्दीपलाई आफूले कारोबार नगर्ने बताउन थालिन् । वडाबाट सिफारिस ल्याउँदा लागेका सबै खर्च आफूले बेहोर्ने र कारोबार नगर्ने भनेर पन्छिन नखोजेको पनि होइन । तर, हेमा र सन्दीप मिलेर अनेक प्रलोभनमा पारिहाल्थे ।

विमलालाई मालपोत कार्यलय कसरी पुर्‍याइयो ?

विमलाको दाइले एक सहकारीमार्फत ऋण निकालिदिने भनेर लगेका थिए । सहकारीमा विमलाको दाइसहित उनका श्रीमान शिवप्रसाद पनि गएका थिए ।

सहकारीमा पुग्दासमेत हेमा र सन्दीपले तारन्तार फान गरिरहेका थिए । विमलाले अहिले आफू दाई र श्रीमानसँग रहेको र कारोबार नगर्ने बताए ।
विमलाले सहकारी पत्ता लगाएर त्यहि सहकारीको बाहिर आएर फोन गरे । एकैछिन बाहिर निस्कन भने । हेमाले स्कुटी लिएर गएकी थिइन् । त्यही स्कुटीमा राखेर हेमाले विमलालाई मालपोत कार्यलय पुर्‍याइन्।

मालपोत कार्यलयमा हेमाले सबै कागजात तयारी अवस्थामा राखेका थिए । हेमाले जहाँ–जहाँ सहीछाप लगाउन लगाइन्, विमलाले पनि सबै कुरा मानेर सहीछाप लगाइन् । विमलाले एकचोटी पढेर सुनाउन भनेकी थिइन् ।

तर, हेमाले पढ्न थाल्यो भने ढिलो हुने र केही फरक नपर्ने भन्दै सबै ठाउँमा सहीछाप लगाउन लगाइन् । आफूले कहाँ–कहाँ सहीछाप लगाइयो भन्ने बारेमासमेत विमला अनविज्ञ छिन् ।

यतिमात्रै होइन, मालपोत अधिकृतसँग बोल्ने कुराहरुसमेत हेमाले सिकाइन् । अधिकृतले विमलालाई पैसा पाए/नपाएको सोधे । विमलाले सबै लिएको बताए । अधिकृतले कतिमा कारोबार गरेको भनेर सोध्दा हेमाले ६० लाख रुपैयाँमा भन्नु भनेकोले विमलाले पनि त्यहि बताइन् ।
मालपोत अधिकृतको कार्यकक्षबाट तल झर्ने बित्तिकै हेमाले निकै हतार गर्न थालिन् ।

‘फेरि तपाईको श्रीमान आउन सक्नुहुन्छ, ल छिटोछिटो घर जानु’ भन्दै सन्दीप गुरुङ र तुलसी पनेरुले पनि हतारो लगाए । हेमा गुरुङले निक्कै हतारा विमलालाई स्कुटीमा राखेर मालपोत कार्यलयबाट हिडिन् । विमलालाई उनकै घरमा ल्याएर छाडिदिइन् ।

विमला अधिकारीको नाममा रहेको जग्गाधनीको प्रमाणपत्र

विमालको घरजग्गा पास त भयो, तर पैसा हातमा परेन

हेमा गुरुङ, सन्दिप गुरुङ र तुलसी पनेरुको बदमासी यतिमा मात्रै सिमित रहेन । सन्दीप गुरुङले पैसा खातामा नहाली भेटेर दिने बताए । विमलाले घरमा आएर दिन आग्रह गरिन् । तर सन्दिपले घरमा आउन ढिलो हुन्छ भने ।

ढिला हुने भए हेमा गुरुङको हातमा दिन विमलाले भनिन् । त्यसपछि भने हेमाले फोन उठाउन छाडिन् ।

एकदिन हेमाको श्रीमान बताउने व्यक्तिसँग भेट भयो । आफूले घरजग्गा थिचेर दिइसकेको तर अहिलेसम्म पैसा हात नपरेको विमलाले बताएपछि त्यसको केही दिनमा हेमाले करीब २ लाख रुपैयाँ ल्याएर दिइन् । त्यसपछि फेरि सम्पर्कविहीन भए ।

त्यसको केही दिनमा सन्दीप गुरुङलगायतसँग दोहोरो कागज गर्ने कुरा भयो । तर, विमलाको तर्फबाट कोही पनि बस्न नमिल्ने सर्त उनीहरुले राखे । तर पछि विमलाको अनुरोधमा उनकझ पक्षको मानिससहित राखेर १ वर्षभित्रमा जग्गा फिर्ता गर्ने सर्तमा कागजात बनाउने काम भयो ।

के भन्छिन् हेमा गुरुङ ?

हेमा गुरुङ दृष्टि बन्धकीमा राखेको र मिलेर कारोबार गर्ने भनेर जग्गा नामसारी गरेको स्वीकार गरेकी छिन् । घर दोलखा भएको तर, पुरै ठेगाना बताउन नचाहेकी हेमाले आफू पनि अन्जानमै दलालीको फन्दामा परेको बताइन् । दलालीहरुमार्फत नै सन्दीप गुरुङसँग चिनजान भएको भन्दै उनले विमला अधिकारीकै सल्लाहमा कारोबार गर्ने कुरा भएको बताउँछिन् ।

सन्दीपमार्फत १२ लाख रुपैयाँ पैसा आफ्नो हातमा परेको हेमा स्वीकार्छिन् । त्यसमध्ये पहिले नै ३ लाख रुपैयाँ आफ्नो पैसा खर्च भइसकेको हेमाको भनाइ छ ।

विमलाले आफूले २ लाख रुपैयाँ मात्रै हात पारेको बताइरहँदा हेमाले भने पहिले ३ लाख र पछि साढे २ लाख गरेर झण्डै साढे ५ लाख रुपैयाँ दिएको र अरु यताउती खर्च गरेर पैसा सकिएको बताउँछिन् ।

अरु पैसा सन्दीप गुरुङबाट नै नआएकोले विमलाले पैसा नपाएको हेमाको भनाइ छ ।

तुलसी पनेरु के भन्छन् ?

विमला अधिकारीको जग्गा तुलसी पनेरुको नाममा नामसारी भएको छ । हेमाले सन्दीपमार्फत १२ लाख रुपैयाँ हात परेको बताइरहँदा तुलसीले भने ३५ लाख रुपैयाँ आफूले दिएको बताउँछन् । उनी भन्छन्, ‘मैले ३५ लाख रुपैयाँ सन्दीप गुरुङमार्फत दिएको छु, त्यो पैसा पाएँ भने आजको भोली नै जग्गा फिर्ता गर्छु ।’

तुलसी पनेरु । जसको नाममा विमला अधिकारीको जग्गा पुगेको छ ।

यसबारे सन्दीप गुरुङसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । हेमाले आफूले १२ लाख रुपैयाँ मात्रै पाएको र तुलसीले ३५ लाख रुपैयाँ पठाएको भन्ने कुरा नै बाँझिएको छ । हेमा, तुलसी र सन्दीपका कारण मारमा विमला अधिकारी परिरहेकी छिन् ।


प्रतिक्रिया दिनुहोस