ताजा समाचार


भारतमा कोरोनाको तेस्रो वेबः अबको एक सय दिन बढी जोखिम रहेको भन्दै विज्ञको यस्तो चेतावनी

नेप्लिज संवाददाता २ श्रावण २०७८, शनिबार २०:३० (1 हप्ता अघि)    ८० जनाले पढ़िसके

एजेन्सी । भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी दिएका छन् ।

उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताएका छन् ।

उनले भनेका छन् – ‘ हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।’

हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड १९को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

२ साउन (रासस ÷एएफपी) विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

ब्राजिलमा कोभिड महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको ज्यान गयो
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस