ताजा समाचार


इटाली युरो कपको फाइनल प्रवेश, कसले कति गोल गरे ?

नेप्लिज संवाददाता २३ असार २०७८, बुधबार ०६:०० (3 हप्ता अघि)    १३३ जनाले पढ़िसके

काठमाडौं । इटाली युरो कपको फाइनलमा प्रवेश गरेको छ । इटली युरो कपको फाइनलमा प्रवेश गरेको यो चौथो पटक हो । सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले नौ बर्षपछि फाइनलमा स्थान बनाउन सफल भयो ।

लण्डनस्थित वेम्ले रंगशालामा दुबै टिमले निर्धारीत ९० र थप गरिएको अतिरीक्त समयमा एक एक गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको हो ।

खेलको पहिलो हाफमा स्पेनले इटालीमाथि निकै दबाव दिएको थियो । खेलको तेस्रो मिनेटमा नै स्पेनका इमिरसनले मिलाएको बलमा बारेलाले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । तर उनी अफसाइड रहेका थिए ।

१४ औं मिनेटमा फेरान टोरेसले २५ यार्डबाट गरेको प्रहार पोष्टको निकै माथिबाट बाहिरीयो । पहिलो हाफमा इटालीलाई दबावमा राखेको स्पेनले पाएका मौकालाई आत्मसाथ गर्न सकेन । ४४ औं मिनेटमा इमिरसनले प्रहार गरेको बलपनि क्रसबारमा लागेर बाहिरीएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा स्पेनले अर्को अवसर पाएको थियो । उसका सर्जियो बुस्क्वेट्सले गरेको लामो प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ६० औं मिनेटमा डानी अलावाको प्रहारलाई इटालीका गोलकिपरले बचाए ।

तर त्यसको अर्को मिनेटमा इटालीले काउन्टरमा उत्कृष्ट गोल गर्न सफल भयो । स्पेनको डिफेन्स राम्रोसँग सम्हालिन नपाउँदै फेड्रिको चिसाले गोल गर्न सफल भए । डिबक्सको नजिकैबाट गरेको प्रहारलाई स्पेनीस गोलकिपरले रोक्ने मौका नै पाएनन् ।

एक गोलले पछिपरेको अवस्थामा स्पेनले ६७ औं मिनेटमा उत्कृष्ट गोलको अवसरलाई खेर फाल्यो । स्पेनका ओल्मोले गरेको हेडको प्रयास राम्रोसँग कनेक्ट हुन पाएन ।

६८ औं मिनेटमा इटालीका बेरार्डीको प्रहारलाई स्पेनका गोलकिपर उनेई सिमोनले बचाए । ७७ औं मिनेटमा स्पेनका मोराटाले डिबक्समा पाएको बललाई राम्रोसँग प्रहार गर्न सकेनन् ।

८० औं मिनेटमा इटालीका बेराडीले गरेको प्रहारलाई स्पेनका गोलकिपर उनेई सिमोनले बचाए । उनले बायाँ खुट्टाले गरेको प्रहार सहजै बचाए । तर त्यसको अर्को मिनेटमा स्पेनले खेल बराबरी गर्न सफल भयो । स्पेनका लागि अल्भारो मोराटाले उत्कृष्ट फिनिस गरे । उनले ओल्मोको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि दुबै टिमबाट निर्धारीत ९० मिनेटमा थप गोल हुन सकेन र खेल अतिरीक्त समयमा लम्बियो ।

९८ औं मिनेटमा स्पेनले पाएको फ्रिकिकमा ओल्मोको प्रहारलाई इटालीका गोलकिपर डोनारुमाले बचाउँदा रिबाउण्डमा मोराटाको प्रहर इटालीका पेसिनाले बचाए ।

एक सय दुई मिनेटमा स्पेनले अर्को आक्रमण बुनेको थियो । मार्कोस लोरान्टाको प्रहारलाई इटाली बोनुचीले बचाए । एक सय १० मिनेटमा इटालीका बेरार्डीले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।

त्यसपछि अरु गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इटालीका गोलकिपर नायक बने । उनले स्पेनका दुई प्रहारलाई बचाएका थिए । दुबै टिमको सुरुवाती एक एक प्रहारलाई गोलकिपरले रोकेका थिए ।

इटालीका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपरले बचाए । यस्तै स्पेनका डानी ओल्मोको प्रहारलाई पनि इटालीका गोलकिपरले बचाए । तर अल्भारो मोराटाको पेनाल्टीलाई रोकेपछि इटालीले फाइनलमा स्थान बनायो ।

स्पेनको पाँचौ पेनाल्टी प्रहारका लागि आएका मोराटाको प्रहारलाई इटालीका गोलकिपरले सहजै बचाए । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गर्दै टिमको फाइनलमा स्थान पक्का गरे ।

पेनाल्टी सुटआउट

इटाली

लोकाटेली मिस
बेलोटी गोल
बोनुसी गोल
बेर्नादेस्ची गोल
जोर्गिन्हो गोल

स्पेन

ओल्मो मिस
मोरिनो गोल
थियागो गोल
मोराटा मिस


प्रतिक्रिया दिनुहोस