ताजा समाचार


गाउँभरीका किसानले पाए मुर्रा जातको ब्याउने भैँसी

नेप्लिज संवाददाता ९ असार २०७८, बुधबार २०:४१ (1 महिना अघि)    २६७ जनाले पढ़िसके

जाजरकोट । भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।

वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । दूध पकेट क्षेत्र बनाउने गरी भैँसीपालन पकेट क्षेत्र निर्माण गर्न भैँसी वितरण गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ चार समूहमा रु ४८ लाखभन्दा बढीका क्रस मुर्रा जातका भैँसी वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख घर्तीले जानकारी दिनुभयो ।

मङ्गलबार १० किसानलाई क्रस मुर्रा जातको भैँसी वितरण गरिएको नगरपालिकाले यही असार २३ गतेसम्म बाँकी रहेका तीन भैँसीपालन कृषक समूहमा वितरण गरिसक्ने जनाएको छ । नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मुर्रा जातको भैँसी वितरण गरिएको हो ।

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी सोही बमोजिमको कार्य अगाडि बढाइनेछ ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ बाट गाउँपालिका पनि अछुतो छैन । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न हाल सञ्चालनमा रहिरहेको दश श्ययाको कोभिड अस्थायी अस्पताललाई स्तरोन्नति गरी २० श्ययाका रूपमा विकास गरिने रानाले बताउनुभयो ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप घिरिङमा दश श्ययाको अस्पताल आगामी आर्थिक वर्षबाट नै स्थापना गरी सञ्चालन गर्ने नीति लिइएको छ । साथै दश श्ययाको आधारभूत अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन र डिपिआर समेतका लागि बजेट विनियोजन गरिने रानाले जानकारी दिनुभयो ।

बागलुङमा २८ वडा पहिराको उच्च जोखिममा

यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् ।

पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो ।

जिल्लाभर पहिराका कारण तीन हजार ५०० देखि चार हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । पहिराको जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तीमध्ये केही पूर्ण रूपमा र केही आंशिक प्रभावित हुनेछन् ।

मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो । पूर्वानुमानअनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाअनुसार तीन हजार ४४३ पाँच वर्षमुनिका बालबालिका बाढीपहिराबाट प्रभावित हुनेछन् ।

त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत धेरै छ । तीन हजार ६९९ ज्येष्ठ नागरिक प्रभावित हुने पूर्वानुमान छ । गर्भवती ७६५ र सुत्केरी एक हजार ४०४ जना प्रभावित हुने अनुमानित तथ्याङ्क रहेको कार्कीले जानकारी दिनुभयो ।

बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरू बाढीको जोखिममा छन् ।

जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरूले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरोपीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो ।


प्रतिक्रिया दिनुहोस